प्रदेश १ मा मु्ख्यमन्त्री बदलिन लाग्दा खोजी हुँदै

|

विराटनगर : नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले बिहीबार राजीनामा दिने तयारी गरिरहँदा फरार सूचीमा रहेकी गुलेफुन खातुनको चर्चा एकाएक चुलिएको छ। उनको हस्ताक्षर दुरुपयोग हुने होइन भन्ने विषयमा आशङ्का बढेसँगै नेताहरूले उनलाई सम्झिएका हुन्‌।

एमाले सांसद गुलेफुन खातुन प्रदेश १ को बजेट अधिवेशनको बैठकमा सहभागी भइनन्। त्यसपश्चात प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले खातुन नियमित १० भन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको विवरण वाचन गरेर सुनाएका थिए।

२०७६ साल पुस ९ गते उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले खातुनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा सांसद् खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना तोकिएको छ।

फैसलापछि फरार रहेकी सांसद खातुन‍ एमाले संसदीय दलको बैठकमा भने कहिलेकाहीँ उपस्थित हुँदै आएकी स्रोत बताउँछ। सो पार्टीको संसदीय दल बैठक बिहीबार बिहान बोलाइएको छ। बैठकमा सहभागी हुन मियाँलाई पनि निम्तो पठाइएको छ।

दलको नेता परिवर्तन गर्न बैठक बोलाइएका कारण उनी पनि सहभागी हुने एमालेका एक सांसदले बताए।

सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको आरोप

सांसद खातुनलाई तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छापा किर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो।

किर्ते मुद्दामा सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मिया, तत्कालीन गाविसका कर्मचारी बिजय कामत र दिपचन्द मण्डललाई २०७४ बैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो।

किर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजाय सुनाएको थियो।

फैसला विरुद्ध खातुन उच्च अदालत गएकी थिइन्। उच्च अदालत विराटनगरले शेख सिलबरलाई सफाइ दिएको छ। अन्य तीन जनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

सांसद खातुनले अझै ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी छ। उनलाई फौजदारी अभियोगमा दोषी देखिएकै अवस्थामा एमालेले समानुपातिक सांसद बनाएको थियो। मुद्दा चलिरहेको अवस्थामा नेकपाले उनलाई समानुपातिक उम्मेदवार हुँदै २०७४ माघ तेस्रो साता सांसद पदमा सपथग्रहण गराएको थियो।

जिल्ला अदालत मोरङले उनलाई २०७३ वैशाख ३१ गते एक वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसलाविरुद्ध २०७४ भदौमा खातुनले उच्च अदालतमा पुनरावेदन पनि गरेकी थिइन्‌। ​

के थियो घटना ?

तत्कालीन एमालेबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित खातुनले तीन विगाहा १० कट्ठा मोही जग्गा आफ्नो नाममा ल्याउन २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सही र कार्यालयको छापा किर्ते गरी सिफारिस पत्र बनाएकी थिइन्। सोही सिफारिस भूमिसुधार कार्यालय पुगेको थियो।

दुई वर्षपछि सो अनियमितताबारे जानकारी बाहिरिएपछि २०७३ जेठ २२ जाहेरी परेको थियो। त्यसपछि उनी पक्राउ परेकी थिइन्।

२५ दिन प्रहरी हिरासतमा बसेकी उनी १० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन्। तर, २०७४ वैशाख ३१ गते जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले किर्ते प्रकरणमा संलग्न खातुनसहित चारै जनालाई कैद सजाय तोकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.