तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह

|

धनगढी : कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको छ। जिल्लामा एकजनाको मृत्यु भएको छ भने एक घर बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो। सयौँ घरमा पानी पसेको छ।

बिहीबार साँझ लुगा धुँदै गरेकी थारूलाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। बाढीले बगाएर करिब ७ किलोमिटर पर पुर्‍याएको अवस्थामा थारुको शव फेला परेको विष्टले बताए।

यस्तै, दुईजनाको भने उद्धार गरिएको छ। गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाको बीच भागमा फसेका थिए। उनीहरुको मध्यराति उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्दार गरेको सूचना अधिकारी जोशीले बताए।

वर्षापछि आएको बाढीले जिल्लामा एक घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली–कंचनपुर जोड्ने स्काई फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतीक्षालय बगाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका ३ र कञ्‍चनपुरको बाईसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधीन पक्कीपुलको दुवै किनारमा भरान गरिएको माटो बगाउँदा आवागमन ठप्प भएको छ।

यस्तै, जिल्लामा पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। ‘जानकी गाउँपालिका-४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ। सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ,’ उनले भने।

‘टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध कटान भइरहेको छ, भरानको कार्य पनि भइरहेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बस्न आग्रह गरेका छौँ,’ उनले भने। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको स्थानीयले बताएका छन्।

यस्तै, कैलारी गाउँपालिका-७ छटकपुर बसन्ता गाउँमा कटैनी नदीमा आएको बाढी पसेको छ। नदीमा आएको बाढी ३० बढी घरमा पसेको स्थानीय जिया चौधरीले जानकारी दिए। यस्तै, कटैनी नदीको बाढी वडा नम्बर ७ अन्‍तर्गत बर्का बसन्ता, भुइँयाँफाँटा र रामपुर गाउँमा पनि पसेको स्थानीयले बताएका छन्।

तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह

कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। चुरे क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

‘टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध कटान भइरहेको छ, भरानको कार्य पनि भइरहेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बस्न आग्रह गरेका छौँ,’ उनले भने। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको स्थानीयले बताएका छन्।

कर्णाली नदीले सो ठाउँमा कटान गरे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ को सत्ती, वडा नं. ८ को सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका गाउँमा असर पर्नेछ। अहिलेसमेत वर्षा भइरहेका कारणले नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको छ।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिचाईं आयोजना सुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको भए पनि वर्षेनी कटानको समस्या भने कम हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.