धनकुटा : हेटौँडाको रियल स्टार युथ क्लबलाई हराउँदै बिर्तामोड युनाइटेड क्लब झापा ११औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रवार सम्पन्न खेलमा बिर्तामोड युनाइटेडले रियल स्टार क्लब हेटौँडालाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
खेलको तेस्रो मिनेटमा र १३औँ मिनेटमा बिर्तामोडका आशिष चापागाई र ६३औँ मिनेटमा र दोस्रो हाफको इन्जुरी समयमा योगेश गुरुङले गोल गर्दै बिर्तामोडलाई ४–० गोलको जित दिलाए।
खेलको म्यान अफ त म्याच बिर्तामोडका आशिष चापागाई घोषित भए। उनले नगद ७ हजार रुपैयाँ तथा मेडल हात पारे। खेलमा गोल गर्ने पाएको दर्जनौँ मौका गुमाउँदा रियल स्टार हेटौँडा पहिलो खेलबाट बाहिरिएको छ।
यसअघि धनकुटाको डाँडाबजार युथ क्लबलाई हराउँदै मोरङको डाँगीहाट युथ क्लब सेमिफाइनलको यात्रा तय गरिसकेको छ।
प्रतियोगिताअन्तर्गत शनिवार आयोजक रारा फुटबल क्लब राजारानी र भोजपुर जिल्ला फुटबल संघबीच हुने आयोजकले जनाएको छ।
आगामी १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि‚ मेडल, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।
सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए।
गत वर्ष भएको १०औँ संस्करणमा विजेतालाई नगद ३ लाख रुपैयाँ र उपविजेतालाई नगद डेढ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालमा सञ्चालन गर्न थालिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।