|

 

हजुरको देशमा हजुरकै मर्जी
म त हजुर दुई दिनको पाहुना। 

उठान गर्न खोजिएको कुरा २०६८ सालतिरको हो। आफ्नो पहिलो सोलो एल्बम् ‘पंक्षी’का लागि उनी यही शब्दरचनामा गीत गाउने (स्वर भर्ने) तयारीमा थिए। उनले यस किसिमको गीत गाउने कुरा थाहा पाएपछि आमाको मनमा केही चिसो पस्यो। यस्ता–यस्ता शब्दका गीतहरू नगाए हुन्थ्यो भन्ने आमालाई लागेछ क्यारे! ‘बावु यो गीत नगाऊ’, छोराप्रति असन्तुष्टि जनाउँदै आमाले भन्नुभएछ– ‘भो पर्दैन यस्तो गीत गाउन।’ तर, उसले आमालाई सम्झाउँदै भन्यो– ‘आमा आखिर गीत त हो नि, केही फरक पर्दैन।’ केही सीप नलागेपछि आखिर आमा चित्त बुझाउन बाध्य हुनुभयो। ‘दैवको लीला टारेर टर्दैन कसैगरी’ भनेझैँ आखिर २०७२ सालमा भयो त्यस्तै। 

माथि उल्लेख गरिएका गीतका शब्दहरूले व्यक्त गर्न खोजेका सन्देशसँग उनको जीवनले मेल खान गयो। उनी अहिले हामीमाझ सम्झनाका यस्तै अमीट उपहार छोडेर यस भर्तीमा विलीन भएका छन्। 

उनै मीठो स्वरका धनी सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको २०७२ चैत २८ गते चितवनबाट काठमाडौँ आउने क्रममा धादिङको मलेखुस्थित पृथ्वी राजमार्गमा भएको अकल्पनीय सडक दुर्घटनामा परी निधन भयो। साष्ट्रसेवाको अलावा लामो समयदेखि नेपाली संगीतको क्षेत्रमा, विशेषगरी आधुनिक संगीततर्फ आफ्नो नाम चम्काउँदै गरेका पाठक संगीतकार तथा रचनाकारसमेत थिए। आफैँ गीत लेख्ने, संगीत भर्ने र त्यसलाई मीठो स्वर दिने क्षमता राख्थे उनी। 

माथि उल्लेखित गीतको अर्को हरफका शब्दमा उनले गाएका थिए– 
मरेर गए ईश्वरको वरदान, 
बाँचुञ्जेल नहोस् केही कमी।
आजको मिलन भोलिको बिछोड,
सम्झना रहिरहोस् नौ जुनी।।

यी शब्द वास्तवमै उनको जीवनसँगै मेल खान गए। चितवनको शिवनगरमा वि. सं. २०४१ मा जन्मिएका पाठक २०६४ साल असार ६ गते सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका थिए। सानै उमेरदेखि गीत संगीतमा रम्न चाहने उनी २०६०÷०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ्ग स्टार प्रतियोगितामा उत्कृष्ट दशभित्र पर्न सफल भएका थिए। यस्तै चितवनमै सम्पन्न आठौँ कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधिसमेत हात पार्न सफल भएका थिए दुर्गाले।

आधुनिक संगीततर्फ विशेष रुचि राख्ने पाठक प्रायः सबै प्रकारका गीत गाउने दक्षता राख्दथे। उनका यसअघि पनि ‘पक्षी’ र ‘निद्रा लाग्दैन’ दुईवटा एल्बम बजारमा आइसकेका छन्। ‘पंक्षी’ एल्बममा अहिलेकी चर्चित गायिका अन्जु पन्तसँग सयुंक्त रूपमा उनले स्वर दिएका थिए भने म्युजिक भिडियोमा समेत चर्चित नायिका केकी अधिकारी तथा नीता ढुंगानाका साथ उनलाई देख्न सकिन्छ। उनले गाएका ‘हजुरको देशमा’, ‘पलपल तिम्रो यादले’, ‘निद्रा लाग्दैन’ आदि गीतहरूका म्युजिक भिडियो यू–ट्युबमा समेत हेर्न सकिन्छ। 

२०६४ सालदेखि सशस्त्र प्रहरी अधिकृत बनेर राष्ट्रसेवामा समर्पित उनी आफ्ना साथीभाइमाझ समेत उत्तिकै लोकप्रिय मानिन्थे। कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुत थकित साथीहरूलाई मीठो गीत गाएर ऊर्जा थप्ने कार्यमा उनी कहिल्यै पछि परेनन्। संगठनमा समेत अत्यन्तै अनुशासित, कर्तव्यनिष्ठ, पेशागत रूपमा दक्ष र जिम्मेवार अधिकृतका रूपमा गनिन्थे उनी। संगठनमा राम्रो भविष्य बोकेका दुर्गाबाबु पाठक सहयोगी एवं सहृदयी अधिकृतका रूपमा परिचित थिए। फुटबल र क्रिकेट खेलका समेत अब्बल खेलाडी उनी क्यारिकेचर गर्न, गीतार बनाउन तथा अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल मानिन्थे।

बहुप्रतिभाका धनी पाठकले पंक्षी एल्बममा दिएको सुमधुर स्वर जस्तै आफ्ना साथीभाइमाझ पनि मीठो सम्झना छोडेर गएका छन्। स्वर्गीय पाठककी आमा आज पनि त्यही गीत सम्झँदै भन्नुहुन्छ– ‘मैले त्यो गीत नगाऊ भनेको मान्दै मानेन, आखिर यस्तो हुन लेखेको रहेछ।’ 
(थापा सशस्त्र प्रहरी निरीक्षक हुन्)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.