|

काठमाडौं : मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ। 

केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन्। आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

नेताहरुबीच एक घन्टादेखि छलफल चलिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  गठबन्धनमा आबद्ध दलहरुबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। आजको बैठकले मन्त्रालयको विषयमा टुंग्याउने सम्भावना रहेको नेकपा एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसालले जानकारी दिए। एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलोपटक गठबन्धनका औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरु जारी थिए। 

अहिले गठबन्धनमा आबद्ध दलहरुबीच महत्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन।  गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा छन्।

यसैबीच, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारमा सहभागी हुने दलहरुभित्र उपप्रधानमन्त्री राख्नुपर्छ भन्ने विषयमा कुरा उठेको बताए। ‘सरकारमा आफ्नो दलको तर्फबाट फलानोले नेतृत्व गरेर जाने भनिरहँदा उपप्रधानमन्त्रीसहित भन्ने स्वभाविक हुन्छ’, थाहा संचार नेटवर्कसँग कुरा गर्दै पौडेलले भने, ‘तर प्रधानमन्त्रीले के चाहनुहुन्छ भन्नेमा भर पर्छ, त्यस विषयमा आज निर्णय होला।’ त्यसो हुँदा सरकारमा सहभागी हुने माओवादी, एकीकृत समाजवादी र जनता समजावदीबाट तीन जना उपप्रधानमन्त्री हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.