|

काठमाडौं :  नेपाली कांग्रेसका युवा नेता कल्याण  गुरुङले पार्टी सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन्। कांग्रेसको १४ ओं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा उनले बुधबार गरेका हुन्। 

५१ वर्षीय उनी कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताउँदै आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेका छन्। 

उनले पत्रकारसँगको भेटघाटमा पार्टीमा ०४८ सालयता अहिलेसम्म ३० वर्षपछि पनि नेतृत्वमा नफेरिएको बताए। देशको शासन प्रणाली परिवर्तन हुँदासमेत नेतृत्वको सोचाइमा कुनै परिवर्तन नआएको उनको भनाइ छ।

उनले अब नयाँ समयमा नयाँ पुस्ताले नेतृत्व हाँक्नुपर्छ भन्ने आम मानिसको माग सम्बोधन गर्न पनि आफूले उम्मेदवारी दिन लागेको बताएका छन्। ८० प्रतिशत क्रियाशील सदस्य युवा रहेको कांग्रेसमा पार्टीको नेतृत्व हाँक्न अघि सरेका २० जना नेता ६० वर्षमाथिका रहेकाले कम्तिमा पनि १० जना युवा आकांक्षी हुनुपर्ने उनको भनाइ छ। 

उनले भनेका छन्– बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरेको यो पार्टीको नेतृत्व ३० वर्षदेखि पुरानै पुस्ताले गरिरहेको छ। नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम भएको प्रमाणित गर्न पनि मैले उम्मेदवारी दिन लागेको हुँ।

उनले आफू सभापति भए सबै समुदायलाई समेटेर कांग्रेसलाई समावेशी पार्टी बनाउने, सबैले अवसर पाउने पार्टी बनाउने बताए। समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटक मात्र मन्त्री हुन पाउने, दुई पटक मात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाका लागि र पार्टीको विधानमा व्यवस्था गर्ने उनको भनाइ छ। 

एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटक मात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्ने, स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्नेसमेत उनले घोषणा गरे।

सभापति भएर पार्टीको नेतृत्वमा सरकार बने शिक्षामा सबैको पहुँच, अनिवार्य र निःशुल्क शिक्षा, सबै निजी अस्पताललाई राष्ट्रियकरण  गरेर सबै नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने बाचा उनको छ।

गुरुङले कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिन नपाएका क्रियाशील सदस्य अहिलेका पदाधिकारीप्रति असन्तुष्ट रहेको पनि उल्लेख गरे। उनले ती असन्तुष्ट क्रियाशील सदस्य आफ्ना साथमा  रहेको दाबी पनि उनले गरेका छन्। युवाको संख्या पार्टीमा धेरै भएकाले आफूले सभापतिमा जित्ने दाबी उनले गरे।

उपसभापति विमलेन्द्र निधीले यसअघि सम्पर्क कार्यालय नै खोलेर पार्टी सभापतिमा उम्मेदवारीको घोषणा गरिसकेका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू फेरि पार्टी नेतृत्वको आकांक्षी भएको बताइसकेका छन्। गगन थापाले पनि महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.