|

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।

निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।

भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ तथा मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले एकीकृत समाजवादीमा रहेको सनाखत गराएका हुन्। 

अल्पमतमा मुख्यमन्त्री आचार्य

९३ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद थिए।  सरकार बनाउन ४७ सांसदको मत चाहिन्छ। आज (बुधबार) निर्वाचन कार्यालयमा माधवकुमार नेपालको एकीकृत समाजवादीमा १० जनाले सनाखत गराएसँगै अब एमालेमा सभामुखसहित ४१ सांसद मात्र रहेका छन्। उनीहरूको सनाखतसँगै केही दिनअघि मात्र मुख्यमन्त्री नियुक्त आचार्य अल्पमतमा परेका छन्।

गत भदौ १० गते संविधानको धारा १६८ (१ं) बमोजिम उनी बहुमत प्राप्त संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका थिए।

नेपाल समूहमा रहेका सांसदलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका आचार्यलाई एमाले संसदीय दलको नेता बनाउँदै मुख्यमन्त्री बनाएको थियो।

आचार्यले संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मत लिनुपर्ने भए पनि हालको विपक्षी गठबन्धनमा बहुमत भएकाले उनले मुख्यमन्त्रीमा निरन्तरता पाउने सम्भावना न्यून रहेको छ।

नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले प्रदेश १ का मुख्यमन्त्री आचार्य अल्पमतमा परिसकेकाले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।

सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सरकार अल्पमतमा परेको मुख्यमन्त्री आचार्यलाई पनि जानकारी भइसकेकाले नैतिकताका आधारमा राजीनामा दिनेमा आफूहरू विश्वस्त रहेको दाबी उनले गरे।

गठबन्धनको सरकार अरू प्रदेशमा पनि बन्दै गएको र नेपाल समूहको नेतृत्वमा प्रदेश सरकार कतै पनि नबनेकाले प्रदेश–१ मा आफूहरूले बनाउने जिकिर नेता राईले गरे।

‘अहिलेसम्म कुनै पनि प्रदेशमा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बनेको छैन। त्यही भएर पनि प्रदेश १ मा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने हामीले अपेक्षा गरेका हौं। गठबन्धनको सरकार बनाउने विषयमा थप छलफल भइरहेको छ।’

मार्ग प्रशस्त नगरे कुन प्रक्रियाबाट जाने छलफल गर्छौं : आङ्बो

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको प्रावधान मिचेर मुख्यमन्त्रीले सपथ गर्नु गलत रहेको बताए। पूर्व अर्थमन्त्रीसमेत रहेका उनले अल्पमतमा परेका मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै बिहीबार गठबन्धनको बैठकसमेत बोलाइएको जानकारी दिए।

‘मुख्यमन्त्रीज्यूले मार्ग प्रशस्त गर्नुभएन भने र बहुमत प्राप्त भएन भने हामी कुन प्रक्रियाबाट जाने हो भोलि छलफल गर्छौं,’ उनले भने।

राजीनामा दिन्नँ : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले पार्टी एकता बचाउनका लागि आफू मुख्यमन्त्री बनेको बताए। उनले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिनेसमेत बताएका छन्।

मुख्यमन्त्रीको कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानतः विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद फेस गर्ने बताएका छन्। उनले यसअघि भने प्रदेश सरकारले सञ्चालन गर्ने जनतासँग मुख्यमन्त्री टेलिभिजन कार्यक्रममा इच्छा नहुँदा नहुँदै मुख्यमन्त्री बनेको बताएका थिए।

आफू अफ्ठेरो अवस्थामा रहेको पहिल्यै बुझेको भन्दै उनले भने, 'साथीहरूले विश्वासको मत दिनुहुनेछ भन्नेमा म विश्वस्त छु।' यसअघि उनलाई नेकपा माओवादी र कांग्रेससहितका विपक्षी दलले मुख्यमन्त्रीमा प्रस्ताव गरेर एमालेको प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तर, पछि उनले एमाले रोजेर उतै गएपछि उनको पक्षका सांसदहरूसमेत विभाजित भएका हुन्।

गठबन्धनमा ५० सांसद

प्रदेशसभामा अहिले नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले एकीकृत समाजवादीमा १० सांसद गएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.