|

धनकुटा : नेपाली कांग्रेस धनकुटाको अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ। धनकुटाका सातवटै स्थानीय तहका ६० वटै वडामा एकसाथ अधिवेशन सुरु भएको हो।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार धनकुटाका स्थानीय तहका वडाको अधिवेशन सुरु भएको जिल्ला सचिव विजयी सन्तोषी राईले जानकारी दिए। उनले ६० वटै वडामा वडा इकाई कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुका लागि मनोनयन दर्ता सोमबार हुने बताए। वडामा सर्वसम्मत नेतृत्व चयन नभए सोमबार सोमबार निर्वाचन हुने भएको छ।

सात स्थानीय तहमध्ये धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा १०–१०, महालक्ष्मी नगरपालिकामा ९, चौबिसे गाउँपालिकामा ८, सहिदभूमि गाउँपालिकामा ७ र छथर जोरपाटी गाउँपालिकामा ६ वटा वडा रहेका छन्। अधिवेशनबाट प्रत्येक वडामा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र १३ जना सदस्यसहित २० सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन्। कार्यसमितिको कोषाध्यक्ष भने इकाई सभापतिको प्रस्तावमा निर्वाचित सदस्यहरुमध्येबाट निर्वाचित गरिन्छ।

कांग्रेसको विधानअनुसार प्रत्येक वडाबाट क्रियाशील सदस्य संख्याको आधारमा दुईतिहाई महिलासहितको क्षेत्रीय प्रतिनिधि चयन हुनेछ। स्थानीय तहको सभापतिदेखि माथिल्लो समितिमा उम्मेदवार हुन र स्थानीय तहदेखि जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरु चयनका लागि क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नु पर्नेछ। कांग्रेसको वडा तहबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुको अहम् भूमिका रहनेछ।

त्यसैले जिल्लाका नेतृत्वको ध्यान यतिखेर वडा वडामा केन्द्रित भएको छ। जिल्ला सभापति बन्न पनि क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने अनिवार्य व्यवस्थाले नेताहरुको ध्यान वडाको प्रतिनिधि चयनमा बढी केन्द्रीत भएको कांग्रेस नेताहरु बताउँछन्। वडा–वडाबाट निर्वाचित हुने प्रतिनिधिको अनुहारले पनि स्थानीय तहको नेतृत्व चयनको खाका स्पष्ट हुने भएकाले नेताहरुको ध्यान वडामा केन्द्रीत भएको कांग्रेस धनकुटाका सचिव राईले बताए। 

धनकुटामा ६० वडाबाट वडा सभापतिसहित कम्तीमा ९६० जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। एउटा वडाबाट वडा सभापतिसहित कम्तीमा १६ र बढीमा २२ जना क्षेत्रीय प्रतिनिधि चयन हुने सचिव राईले जानकारी दिए। समानुपातिक, समावेशी र भौगोलिक आधारमा ठाउँअनुसार १६ देखि २२ जना प्रतिनिधि छनोट हुनेछ।

धनकुटा जिल्लामा सबैभन्दा बढी धनकुटा नगरपालिकाबाट कम्तीमा १८० जना र जिल्लामा सबैभन्दा कम छथर जोरपाटी गाउँपालिकाबाट कम्तीमा ११० जना प्रतिनिधि छनोट हुने राईले जानकारी दिए। राईका अनुसार जिल्लाका हालसम्म सर्वसम्मत नभएको र सबै वडामा सर्वसम्मत वडा समिति, प्रतिनिधि छनोट गर्न लागि परेको जानकारी दिए। आइतबारसम्म सर्वसम्मतको प्रयास हुने र त्यो नभए सोमबार मतदान हुने राईको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.