प्रवक्ता रेग्मी भन्छन् : पानी चुहिएको होइन बाहिरबाट छिरेछ

|

काठमाडौं : रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन भएको करिब आठ महिनामै पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको छ। आइतबार राति परेको अविरल वर्षापछि पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको हो।

२०७७ पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नयाँ भवनको उद्घाटन गरेका थिए। अहिले कार्यालयको पार्किङस्थलमा सबैतिर पानी जमेको छ। सवारीसाधन पार्किङ गर्न मिल्ने अवस्थै छैन। सबै सवारीसाधन कार्यालयबाहिरै पार्किङ गरिएको छ।

​कार्यालयभित्र जमेकाे पानी पाइपबाट बाहिर निकालेर फाल्ने काम भइरहेको छ। कार्यालयभित्र फ्लाइट र बरण्डातिर भने विभिन्न फूल,गमला राखेर चिटिक्क सजाइएको छ।

त्यहाँका एक कर्मचारीले पार्किङस्थलमा पानी चुहिएकाले पार्किङ गर्ने ठाउँ पोखरी बनेको बताए। ती कर्मचारीले भने,‘हिजो परेको पानी भवनको विभिन्न ठाउँबाट चुहिएर पोखरी बनेको छ,नयाँ नै हो यो भवन त तर कसरी पानी चुहियो,चुहियो?’ ती कर्मचारीले कमसल समान प्रयोग र डिजाइनविपरीत बनाइएकाले पानी चुहिएको हुन सक्ने भनाइ व्‍यक्त गरे।

‘यहाँ करोडौँ खर्च गरेर भवन बनाइएको छ,अलिक व्यवस्थित गरेर पानीको निकास हुने गरी बनाउनु पर्दथ्याे, तर बनेन,अहिले पार्किङ गर्नै समस्या भयो,’उनले भने।तर कार्यालयका प्रवक्ता सञ्जी‍वराज रेग्मीले पानी चुहिएको नभई बाहिरबाट पार्किङस्थलमा पानी छिरेको तर्क राखे।

उनले भने,‘पानी चुहिएको हैन,बाहिरबाट पार्किङ स्थलमा छिरेको हो,माथि छतको पानी जाने पाइप ढलमा समान रुपमा बसेन जस्तो छ,त्यसैले त्यहाँबाट पनि पानी भित्र छिरेको हो।’  त्यस्तो पानी नै चुहिएको त्रुटि भेटिए तुरुन्तै ठेकेदारले नै मर्मत गर्ने उनले बताए। 

तत्कालीन महान्याधिवक्ता अग्निप्रसाद खरेलले उक्त भवन २०७५ असोज २४ गते शिलान्यास गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनेको भवन ७३ करोड ६९ लाख ३५ हजार रुपैयाँमा निर्माण सक्ने गरी शर्मा–समानान्तर जेभीले ठेक्का पाएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.