|

काठमाडाैं : संखुवासभामा सामूहिक हत्या भएका एकै परिवारका ६ जनाको शव भोलि मात्रै उठाइने भएको छ । 

संघीय प्रहरीको टोली घटना स्थल पुग्न ढिलाई भएपछि घटनाको अनुसन्धान गर्न समय लाग्ने भएका कारण अब भोली मात्रै शव उठाइने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पाण्डेले थाहाखबरलाई जानकारी दिए।

घटना भएको स्थान विकट र टाढा भएका कारण प्रहरी टोली पुग्न समय लागेको उनले बताए । ‘घटना भएको ठाउँ एकदमै विकट र टाढा छ । बिहानै हिँडेको प्रहरी टोली साँझ मात्रै पुग्ने अवस्था भयो। प्रहरी पुगेर अनुसन्धान गरेपछि अब भोलि मात्रै शव उठाएर पोष्टमार्टम गर्ने अवस्था हुन्छ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।

अहिले घटनास्थलमा प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली र प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटनास्थल पुगिसकेका छन्।

त्यसभन्दा पहिले घटनास्थलको सुरक्षा स्थानीय प्रहरीको टोलीले गरिरहेको थियो। जिल्ला र इलाकाको टोली घटनास्थल पुगेर उक्त स्थानलाई शिल गर्ने काम भइसकेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। उनले संघीय प्रहरी कार्यालय धरानबाट पुगेको एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोलीलाई कुरिरहेको बताए।

‘हामी घटनास्थल पुगेका छौँ, अहिले हामीले घटनास्थल शिल गर्ने काम पनि गरेका छौँ। कुकुरसहितको टोलीलाई पर्खिरहेका छौँ। एसपी सापको नेतृत्वको उक्त टोली अबको एक डेढ घण्टामा आई पुग्छ होला। अनि मात्रै यहाँको घटनाको विषयमा अनुसन्धान हुन्छ, डिएसपी सुवेदीले भने।

उनले घटनास्थलमा शवहरु छिन्नभिन्न काटिएको अवस्थामा रहेको बताए। ‘केहि घोप्टो परेको अवस्थामा छन्। केहि शव खोल्सामा छन्। घटना के कसरी भएको थियो, कस्ता हतियार प्रयोग गरिएका थिए भन्नेबारे अहिले केहि भन्न सकिन्न।’ उनले भने।

एसपी नेतृत्वको टोली घटनास्थल पुगिसकेपछि तालिम प्राप्त कुकुरको सहयोगमा सुक्ष्म अनुसन्धान हुने डिएसपी सुवेदीले बताए।

उनले भने ‘यहाँ बस्ती पनि खासै बाक्लो छैन। २ सय देखि ३ सय मिटरको दुरीमा घरहरु छन्। हामीले आफ्नो तर्फबाट सीमा नाकादेखि स्थानीय स्तरसम्मको सुरक्षालाई मध्यनजर गरेर कार्य गरिरहेका छौं।’ प्रहरीका अनुसार गएराति ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ ।'

५७ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय दीपक कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.