सूचना अधिकारी भन्छिन् : निवेदन आयो भने छानविन गर्छौं

|

काठमाडौं : गएको सोमबार बेलुका बूढानीलकण्ठ नगरपालिका-११ कपन च्यानेखोला करिडोरका चन्द्रकुमार राई घरको गेट बन्द गर्न जाँदा बाहिरपट्टि टी‍..टी‍‍‍...गरेको केही आवाज सुने। त्यहाँ हेर्दा केही लत्रेको इन्टरनेट तार थियो। उनका छिमेकीले के भएको हो भनी उक्त तार हेर्न लगाए। तार छुनेबित्तिकै ४५ वर्षका चन्द्रकुमार बेहोस भएर लडे।

उनको दाहिने हातमा तार अल्झियो। छिमेकी र स्थानीयले त्यो तार बल्लतल्ल ताने। पछि पो थाहा पाए त्यो  तारमा ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको रहेछ। जसकारण चन्द्रबहादुर झण्डै एक घण्टासम्म बेहोस भए। 

बिरामी चन्द्रबहादुर भन्छन्,‘तार समाएर गेटको बाहिरपट्टि राख्न लाग्दा करेन्ट लागेर बेहोस भएँछु,एक घण्टापछि होसमा आउँदा त मेरो हातले केही थाहै पाएन,चलेन।’ अहिले उनको कीर्तिपुर अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ।

उनकी श्रीमती प्रेमकुमारी राईका अनुसार श्रीमानको दाहिने हात चिरफार गरिएको छ। सामान्य मजदुरी गरेर जीवनयापन गर्दै आएका उनको उपचार हाड तथा जलेको उपचार गर्ने कीर्तिपुर अस्पताल भइरहेको छ। अझै दुई दिनसम्ममा रगत प्रवाह नभएमा हात नै काट्नुपर्ने अवस्थासमेत हुन सक्ने चिकित्सकले बताएको  उनले सुनाइन्।

उनले भनिन,‘अझै उहाँको हात चलेको छैन,अब के गर्ने भनेर केही सोच्‍नै सकिएको छैन।’नेपाल विद्युत् प्राधिकरणकै लापरबाहीका कारण श्रीमानको हात गुमेको भन्दै क्षतिपूर्तिको माग उनले गरिन्।

उनका अनुसार ती क्षेत्रमा अझै पनि बिजुलीका कतिपय तार नांगै र अव्यवस्थित छन्। नांगो तार र इन्टरनेट तार जोडिएकाले नै करेन्ट लागेको हो। ‘अहिलेसम्ममा एक लाखभन्दा बढी खर्च भइसक्यो,’प्रेमकुमारीले भनिन्,‘अब खर्च गर्ने मेरो हैसियत छैन,त्यसैले सबै उपचार खर्च प्राधिकरणले व्यहोर्नुपर्छ।’

प्राधिकरणले तार व्यवस्थित नगर्दा आगलागी बढ्दो

चन्द्रकुमारलाई करेन्ट लागेको एक प्रतिनिधि घटना मात्रै हो। प्राधिकरणले बिजुलीको पोलमा राखिएको तार व्यवस्थित गर्न नसक्दा यस्ता कैयौँ घटना र आगलागी हुने गरेको छ। गत बुधबार राति पनि बिजुलीबजारको एक पोलमा आगलागी भएको थियो। अहिले पनि त्यहाँ बिजुलीको तार भुइँभरि छरपष्ट छ। 

पुतलीसडक चोकको कम्प्युटर बजारमा २०७७ माघ २५ गते आगलागी भयो। मानवीय क्षति नभए पनि टेलिफोनका तारहरू भने जले। यस्ता थुप्रै घट्ना घट्ने गरेको छ।​

विद्युत् प्राधिकरण काठमाडौं प्रादेशिक कार्यालयका अनुसार १३ जिल्लामा करिब सात हजार वटा ट्रान्सफर्मर जडानमा छन्। यही ठाउँबाट बर्सेनि करिब सात सय वटा ट्रान्सफर्मर  जल्ने गर्छन्। बिजुलीको पोलमा इन्टरनेट लगायतका तार गुजुल्टो छ। जसकारण शहर नै कुरूप बनेको छ। तर,व्यवस्थापनमा चासो कुनै निकायले गरेका छैनन।

यसो भन्छ प्राधिकरण

करेन्ट लागेको विषयमा विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयकी  सूचना अधिकारी अनिता सुवेदीले प्राधिकरणमा निवेदन आए छानबिन गरी प्राधिकरणकै गल्ती भएमा क्षतिपूर्ति दिने बताइन्। ‘उनीहरूले हाम्रो प्रशासन शाखामा निवदेन दर्ता गर्नुपर्छ,’उनले भनिन्,‘त्यसपछि मुचुल्का गरी छानविन हुन्छ,गल्ती प्राधिकरणकै भएमा हामी क्षतिपूर्ति दिन्छौँ।’

पछिल्लो समय बिजुलीको पोलमा आगलागी बढ्दै गएपछि उनले नयाँ कुनै पनि तार जोड्न नदिएको उनले बताइन्। ‘एउटै पोलमा धेरै तार छन,ककसले जोडेको भनी छुट्याउनै कठिन छ,त्यसैले व्यवस्थापन गर्न सकिएन,’उनले भनिन्।

तारलाई व्यवस्थित गर्न बिजुलीको तार भूमिगत गरिरहेको बताइन्। उनका अनुसार अहिले धोबीखोला करिडोरको अनामनगर,रातोपुल क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेको छ। जथाभावी बिजुली तारमा नछुन उनकाे आग्रह छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.