|

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ।

हत्या गरी फालिएको अवस्थामा सोमबार बिहान फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिएको तेजबहादुरका भतिजा एमविक्रम कार्कीले जानकारी दिए।

एमविक्रमका अनुसार बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए।

मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की,  उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

अनुसन्धान गर्न डिआइजी बिसी घटनास्थलमा 

घटनाको थप अनुसन्धान गर्ने प्रदेश १ का डिआइजी अरुणकुमार बिसी सामूहिक हत्या भएको घटनास्थल मादी–१ खोलागाउँमा पुगेका छन्। विभत्स हत्या रहस्यामय बन्दै गएपछि उनी बुधबार साँझ मादी आइपुगेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

डिआइजी बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानमा अहिलेसम्म भएको उपलब्धीबारे जानकारी लिएका छन्। अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रहेको डिएसपी सुवेदीले बताए।

सिंगो गाउँ नै शोकमा 

परिवारै सखाप भएको घटनापछि मादी–१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ। अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्की बताए। घटना कसरी र किन गरिएको हो केही पनि नखुलेको उनले बताए।

घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्कीको भनाइ छ। तालिमप्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा घटना अझै रहस्यमय बन्दै गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.