|
फोटो : दिपक केसी

काठमाडौं : सरकारले डीआईजी प्रकाश अर्याललाई नेपाल प्रहरीको प्रमुख पद आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन मूल्याङ्कनको आधारमा अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय सोमबार राति गरेको हो।

यसअघि सोमबारै मन्त्रिपरिषद् बैठकले चारजना वरिष्ठतम डीआईजीको कार्यसम्पादन मुल्याङ्कनको अंक जोड्न ५ सदस्यीय कमिटी गठन गरेको थियो। यस कमिटीमा मन्त्रीपरिषद् कार्यालयमा सचिव, गृह सचिव, कानुन सचिव, निमित्त प्रहरी प्रमुख र महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि समावेश थिए।

समितिलाई डीआईजीहरुको कार्यसम्पादन मुल्याङ्कनको अंक जोड्नका लागि केही समय दिइएको थियो। त्यतिन्जेल मन्त्रिपरिषद् बैठक स्थगित भयो। कमिटीले अंक जोडेर मन्त्रिपरिषदमा प्रतिवेदन बुझाएपछि बैठक फेरि सुरु भयो।

समितिले बुझायो यस्तो प्रतिवेदन

  • कार्य सम्पादन मुल्याङ्कनका आधारमा सबै अंक जोड्दा  प्रकाश अर्यालले १५४.२ अंक प्राप्त गरे।
  • त्यस्तै नवराज सिलवालले १ सय ५२ दशमलव ६७ अंक प्राप्त गरे।
  • बमबहादुर भण्डारीले १ सय ५० दशमलव २ अंक प्राप्त गरे।
  • यसअघि सरकारले नियुक्त गरे आईजी ( सर्वोच्चको फैसलापछि बदर भएका ) जयबहादुर चन्दले १४७.३३ अंक प्राप्त गरे।

सर्वोच्चको मार्गनिर्देशनका आधारमा निर्णय

  • 'अदालतले दिएको मार्ग निर्देशन र चेन अफ कमान्डलाई ख्याल गरेर सरकारले आईजीपीमा प्रकाश अर्याललाई नियुक्त गरेको छ,' बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भने।
  • यसअघि सर्वोच्च अदालतले चैत ८ गते गरेको फैसलामा नवराज सिलवाल कार्यसम्पादनका आधारमा पहिलो नम्बरमा देखिएको उल्लेख थियो। सरकारले आईजी नियुक्त गरेका जयबहादुर चन्द भन्दा सिलवाल आईजीका बन्न योग्य देखिएको उल्लेख थियो। त्यसैकारण अदालतले सरकारको तत्कालिन निर्णय बदर गरेको थियो।
  • अदालतले सरकारको पुरानो निर्णय बदर गरेको २० दिनपछि प्रकाश अर्याल आईजीपीमा बढुवा भएका छन्। 

को हुन् अर्याल?

  • वि.सं. २०२० असार १४ गते दाङमा जन्मिएका अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षक बनेर प्रहरी सेवा प्रवेश गरेका हुन्।
  • उनले आफ्नो २९ वर्ष लामो प्रहरी जीवनका क्रममा दैलेख,तेह्रथुम, रुपन्देही,मकवानपुर, कास्की जिल्लामा प्रहरी प्रमुख भएका काम गरेका छन्। उनले अञ्चल प्रहरी कार्यालय मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।
  • २०६९ साल पुस ४ गते उनी डीआईजीमा बढुवा भएका थिए।

२ महिना लामो रस्साकस्सीपछि अर्याल आईजीपी नियुक्त 

  • माघ २८ गते : जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त नगर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालद्वार रिट निवेदन। सरकारले वरियता मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गर्ने तयारी गरेको रिट निवेदकको जिकिर।
  • फागुन १ गते : मन्त्रिपरिषदद्वारा जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले ढकालको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चन्दलाई महानिरीक्षक नबनाउन अन्तरिम आदेश। पहिलो वरियताका डीआइजी नवराज सिलवालद्वारा वरियता र कार्यसम्पादनमा आफू सक्षम रहेकाले महानिरीक्षक नियुक्ति गर्नुपर्ने दाबी गर्दै रिट दायर। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई विपक्षी बनाइ दायर दुबै रिटमा एकैपटक सुनुवाई गर्ने सर्वोच्चको निर्णय। 
  • फागुन २ गते : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बिदाइ। उनी २०७० मंसिर १ गतेदेखि प्रहरी प्रमुख थिए। डा. दिनेशचन्द्र पोखरेल कायममुकायम प्रहरी प्रमुख नियुक्त। चितवनका सागर थापाद्वारा डिआइजी नवराज सिलवाललाई महानिरीक्षक नबनाउन माग गर्दै रिट दायर।
  • फागुन ४ गते : न्यायाधीश ईश्वरप्रसाद खतिवडाद्वारा थापाले दायर गरेको रिट खारेज।
  • फागुन १८ गते : न्यायाधीशहरु हरिकृष्ण कार्की र तेजबहादुर केसीद्वारा चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश।
  •  चैत ३ गते : न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीद्वारा जयबहादुर चन्द र नवराज सिलवाल प्रहरी नायव महानिरीक्षक (डीआइजी) रहँदाको कार्यसम्पादन मूल्यांकनसम्बन्धी अभिलेख २४ घण्टाभित्र झिकाउन आदेश। अन्तिम सुनुवाइ पूर्ण इजलासले गर्ने सर्वोच्चको आदेश।
  •  चैत ६ गते : प्रधानन्यायाधीश सुशील कार्कीद्वारा आफ्नो नेतृत्वको ५ सदस्यीय पूर्ण इजलास गठन। हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य।
  • चैत ७ गते : अन्तिम सुनुवाई।  
  • चैत ८ गते : फैसला। जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारी निर्णय सर्वोच्चद्धारा बदर। सरकारलाई नियम ४१ पालना गरी न्यायका मान्य सिद्धान्त, सुरक्षा निकायको नियन्त्रण कडी (chain of command) लगायतका विषयलाई दृष्टिगत गरेर चार जना डीआईजीमध्ये विगत चार आर्थिक वर्षको कार्य सम्पादन मुल्याङ्कनमा उच्चतम अंक पाएका व्यक्तिलाई महानिरीक्षकमा तत्काल नियुक्त गर्न परमादेशको आदेश जारी।
  • चैत २८ : नेपाल सरकारद्वारा प्रकाश अर्याल आईजीपी नियुक्त।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.