|
फोटो : दीपक केसी

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नेपाल प्रहरीको प्रमुख पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए।

यसअघि सरकारले फागुन १ गते जयबहादुर चन्दलाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो। तर सरकारको उक्त आदेशमा सर्वोच्च अदालतले तत्कालै कारण देखाउ आदेश जारी गरेपछि चन्द विवादमा मुछिएका थिए। त्यसपछि चैत ८ गतेको अदालतको फैसलाले जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय बदर गरिदिएको थियो। 

निवर्तमान आईजी उपेन्द्रकान्त अर्यालको अवकाश तथा सरकारले नयाँ आईजी नियुक्तिका विषयमा गरेको निर्णय विवादमा तानिएका कारण फागुन १ गतेदेखि अहिलेसम्म नेपाल प्रहरी आईजी विहिन छ। यसबीच प्रहरीकै प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेलले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।

अदालतले योग्यता र कार्यसम्पादनको मुल्याङ्कन गरेर आईजी नियुक्त गर्नका लागि सरकारलाई उत्प्रेषण आदेश दिएको थियो। त्यसयता सरकारले कार्यसम्पादन मुल्याङ्कन गर्न प्रधानमन्त्री तथा मन्त्रlपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा गृहसचिव र कानुनी सचिवसहितको टोली बनाएको थियो। यस टोलीले कार्यासम्पादन मुल्याङ्कन अध्ययन गरेको थियो। त्यसैको प्रतिवेदनको आधारमा सरकारले अर्याललाई नियुक्त गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.