|

काठमाडौ : छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवनको शिलान्यास भएको छ। काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार भवनको शिलान्यास गरेका हुन्। 

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमिपूजन गरेका थिए। छत्रपाटीको गंगालाल मार्गस्थित १० आना १ दाम जग्गामा करिब ३५ करोड रूपैयाँ लागतमा नयाँ भवन बनाउन थालिएको हो। 

महानगर प्रमुख शाक्यले भने, ‘महानगरले गएको वर्ष पनि अस्पताल भवनका लागि ५ करोड रूपैयाँ विनियोजन गरेको थियो, पोहोर काम नभएपछि पैसा खर्च गर्न पाइएन। अर्कोतिर यस वर्ष लागत बढेर खर्च थपिएको छ, समयमा काम गर्नोस्, स्तरीय काम गर्नोस्, पैसाको चिन्ता नगर्नोस्।’

कोभिड-१९ संक्रमणको दोस्रो लहर चलेका बेला महानगरले यस अस्पतालमा महानगरको काेभिड विशेष अस्पताल पनि सञ्चालन गरेको थियो।  

उनका अनुसार समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालय स्थापना भएको हो। ०१७ सालमा राजनीतिक अस्थिरताका बेला भएका झडपमा घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ।

चिकित्सालयको विगतका बारेमा चर्चा गर्दै महानगरपालिका वडा-१७ का अध्यक्ष नविन मानन्धरले समुदायलाई अप्ठ्यारो परेका बेला चिकित्सालयले र चिकित्सालयलाई कठिन भएका बेला महानगरले सहयोग गरेको बताए। 

स्वास्थ्योपचारका सबै सेवा आत्मनिर्भर बनाउन गरिएको प्रयासको चर्चा गर्दै अस्पतालका अध्यक्ष डा.मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए। 

उनका अनुसार अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार पारिनेछ। यसका लागि करिब १२ करोड रूपैयाँ खर्च हुनेछ।

भवन निर्माणका लागि महानगरले २ करोड ५० लाख रूपैयाँ उपलब्ध गराइसकेको छ। यो रकममा २ करोड ५० लाख रूपैयाँ थपेर यो वर्ष ५ करोड रूपैयाँ दिनेछ। 

चिकित्सालयमा २४ सै घण्टा इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसियू, भेन्टिलेटर, प्याथोलजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.