|

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखेका छन्। पहिलो बैठक नाराबाजीकै कारण करिब २० मिनेट पछि स्थगित भएको थियो।

सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेको बैठक पुनः सुरु भएसँगै एमालेका सांसदले नाराबाजी सुरु गरेका हुन्। नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको सांसदहरुलाई आफ्नो अधिकार खोज्दा अरूको अधिकारमा पनि ध्यान दिन आग्रह गरेका छन्।

एमालेको निरन्तर अवरोधपछि सभामुखले भने, ‘आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको उच्चतम मूल्य मान्यताको कुरा हो। आफ्नो अधिकार खोज्दा अरुको अधिकार ख्याल गर्नुपर्छ। अन्य माननीयहरुले ल्याउनुभएको जनताको समस्या राख्नको लागि वातावरण बनाउन आग्रह गर्छु। आफूले संविधान ऐन कानुनअनुसार नै बैठक चलाएको समेत बताए।

सभामुखले भने, ‘मैले कानुन अनुसार बैठक चलाएको छ। यसमा सबैले मनन गरेर मलाई सहयोग गर्नुहोस्। संसदीय मर्यादा कायम राखेर अब संवादमार्फत विवाद समाधान गर्न आग्रह गर्छु। संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु। संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु।’

१५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। आजको बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.