‘एमाले जेठ २ मा फर्कियो तर, जस्ताको तस्तै कार्यान्वयन हुँदैन’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्। 

सुदूरपश्चिम प्रदेशको बिषयमा छलफल गर्न बालकोट पुगेका भीम रावल, लेखराज भट्ट, कर्ण थापालगायतका नेताहरूलाई ओलीले प्रदेश इन्चार्ज भट्ट नै हुने स्पष्ट पारेका हुन्। 

ओलीको भनाइलाई उदृत गर्दै सुदूरपश्चिम प्रदेशका एमाले अध्यक्ष कर्ण थापाले थाहाखबरसँग भने, ‘तपाई (रावल) उपाध्यक्ष हुनुहुन्छ। इन्चार्ज लेखराज भट्ट हुनुहुन्छ। अध्यक्षमा कर्ण थापा हुनुहुन्छ। त्यसमा उपाध्यक्षको भूमिकाबाट काममा सहजीकरण गर्नुहोस्।’ 

कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई नै आधार मानेर अध्यक्षले ओलीले जिम्मेवारीबारे स्पष्ट पारेको उनको भनाइ छ। ‘उहाँ सिंगो पार्टीको उपाध्यक्ष हुनुहुन्छ। उहाँलाई एउटा प्रदेशको इन्चार्जको भूमिकामा खुम्चाउन हुँदैन भनेर यस्तो निर्णय गरेका हौँ’ अध्यक्ष थापाले भने। 

पार्टी ०७५ जेठ २ मा फर्किएको भएपनि जिम्मेवारी व्यवस्थापनमा केही फरक पर्ने भएकाले जस्ताको तस्तै फर्किन नसकिने ओलीको भनाइ थियो। ‘हामीले कार्यदलको सुझावको आधारमा यहाँसम्म आएका छौँ। व्यवस्थापनमा केही तलमाथि हुनसक्छ। त्यसैले तपाई (रावल)ले उपाध्यक्षको भूमिकालाई फराकिलो बनाएर काममा लाग्नुहोस्’ ओलीको भनाइ थियो। 

ओलीको निर्देशनपछि उपाध्यक्ष रावलले आफूलाई अन्याय परेको बताएका थिए। तर, पार्टीको जिम्मेवारी अनुसार अहिले काममा लाग्न ओलीले निर्देशन दिएका थिए। 

ओली र रावलबीचको संवाद सुनेका अध्यक्ष थापा भन्छन्, ‘पार्टी जेठ २ मा नफर्किएको भए भीमजी उपाध्यक्ष हुनुहुन्थ्यो होला नी। बीचमा केके भए त्यसलाई मिलाउनको लागि कार्यविभाजनमा यस्तो भएको छ। उहाँले केन्द्रमै कुनै विभागको अर्को जिम्मेवारी पाउनुहुन्छ होला।’ पार्टीको जिम्मेवारी व्यवस्थापनबारे उपाध्यक्ष रावलको असन्तुष्टि नभएको समेत उनले प्रष्टाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.