मन लागेको काम गर्नु जस्तो विलासी जीवन अरु केही होला?

|

काठमाडौं :  किशोरवय अवस्थामा प्रेमको बिउँ कोही अपरिचितसँग अंकुराउँदै थियो। बिउँले मुना हाल्यो। करिब डेढ वर्ष भेटघाट बिना प्रेमिल जीवन चल्यो।

एक दिन प्रेमिकाले भेट्न प्रस्ताव राखिन्। प्रेमीले भेट्न चाहेका थिएनन्। उनी 'लङ डिस्टेन्श रिलेशनसिप'मा बस्न चाहन्थे।

दूरीमा बसेर प्रेमीले प्रेमिकालाई जुनसँग तुलना गरे। फूलसँग तुलना गरे। सँगै जिउने सपना पनि देखे। यहि बिच प्रेमिकाले भेट्न इच्छा गरिन्। उनी तत्काल भेट्न चाहन्न थिए।  कारण उनीसँग आज पनि छैन। प्रेमिकाले भेट्ने इच्छा तिव्र पारेपछि चिया खाने मेलो प्रेमीले मिलाए।  राजधानीको कुनै एक क्याफेमा दुवैको भेट भयो।

र त्यहि भेटले एक प्रेमिल जोडीको प्रेम सदाका लागि नभेटिने गरेर छुट्टियो। डेढ वर्ष प्रेममा डुबेका प्रेमी थिए गायक दिनेश गौतम अर्थात पुस्तक प्रसाद।

अनि प्रेमिका ?

एक भेटमा उनले ती प्रेमिकाको परिचय त खोलेनन्। तर, उनको सौन्दर्य, आनीबानीबारे सविस्तार सुनाए।  

'अग्लो जिउडाल थियो। अनुहारमा चमक थियो। बोलिरहनु पर्ने उसको बानी थियो। फेशनसेन्स थियो उसमा', गौतमले छुटिजाने प्रेमिकाको नामको बखान गर्दा पंक्तिकारले उसको अनुहारको दृश्य कल्पना मात्र गर्‍यो। कुनै प्रेमिल उपन्यासको पात्र सम्झ्यो। खिस्स हाँस्यो।

उनी त्यो प्रेम छुट्नुमा आफू दोषी मान्छन्। 'म उनीसँग सुहाउँदो थिइन्। न मसँग रुप थियो। न त आर्थिक सम्पन्नता', मन्द मुस्कानसहित गौतमले यति बोले।

अपूरो प्रेमको उक्त भाइरसले मुटुमा बिझाउन सुरू गर्‍यो। छटपटिकाबीच उनले गीत लेखे। 'पैसा कसले बनायो?'

प्रेमको नाममा उनीसँग भएको यहि एउटा गीत हो। उनी अहिले आफ्नो यहि गीत सुन्दा अतितमा फर्कन्छन्, 'मैले पनि कसैलाई प्रेम गरेको थिएँ नी।' उक्त गीत उनी आफैले गाए। गीत हिट भयो।  त्यहि गीतको फेरो समात्दै उनी नेपाली संगीत क्षेत्रमा आए।

त्यसपछि 'ए पर्शनालिटि'मा रमाउने बानी फेरियो

उनी काठमाडौं गायक बन्न आएका होइनन्। सुरक्षा खोज्न आएका थिए। यसको कहानी केहि बेरमा आउनेछ। त्यो भन्दा पहिले उनको बचपनमा जाउँ।

बारामा हुर्किएका उनी बचपनमा अलिक जिद्दी थिए। जिद्दीमात्र होइन् उनी  हरेक कुरामा 'ए पर्शनालिटी ' मा रमाउन चाहन्थे। विद्यालयमा उनको छवि अलिक फरक थियो। केटाहरूको ग्याङ बनाउन उनको रुचि थियो।  मन नपरे कुटिहाल्ने, यतिसम्मकी आफ्नो बेन्चमा आफू विद्यालयमा नआएको दिन अरू कोही बस्यो भने  उसले भोली गौतमको हात र खुट्टाको छाप बस्ने गरेर कुटाई खान्थ्यो। विद्यालय नजिक उनको घर थियो। त्यसैले उनको चुरीफुरी बेग्लै थियो।

त्यसैले स्कुलमा उनीसँग कोही बोल्न रुचाउँदैन थिए। केटी साथीहरू पनि बोल्नका लागि बोल्थे। विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो। एकदिन गाउने कार्यक्रम थियो। गोविन्द नाम गरेका एक विद्यार्थीले गीत गाए। सबैले गोविन्दको सम्मानमा ताली मारे। त्यो ताली भित्र माया थियो। सम्मान थियो। त्यसदिन उनलाई लाग्यो, 'गीत त म पनि गाउँछु त।'

गीत भन्दा पनि गोविन्दले पाएको तालीले उनलाई मोहित बनायो। तत्कालिन समयमा तालीको लोभ उनलाई पलायो।  त्यसपछि उनले क्यासेट खोजे। त्यसबेला चलेका गीत सुने। अनी अर्को शुक्रबार उनी गीत गाउन विद्यालयको स्टेज चढे। यो घटना  सात पढ्दा ताका हो।

उनी स्टेज चढ्दाको अनुभव सुनाउँछन्, 'मेरो गायनलाई सबैले ताली बजाए। त्यो ताली पश्चात् मेरो बानी फेरियो।'

सुरक्षा खोज्दै काठमाडौंमा

उनी खराब विद्यार्थीबाट विस्तारै असल विद्यार्थीमा फेरिँदै गएका थिए। देशमा सशस्त्र जनयुद्ध सुरु भयो। त्यहि माहोलकाबीच गौतम माओवादी बने।  उनले हतियार बोकेर युद्ध लडेका होइनन्। तर, वैचारिक युद्धका उनी सारथी बने। माओवादी भित्रमा गोप्य सुचना एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने उनको काम थियो। यो सिलसिला राम्रै चलिरहेको थियो।

'प्रहरीले दिनेशको नामलाई वाण्टेडको सूचीमा छ र घरलाई छापा मारिदैछ', एकदिन छिमेकीले एउटा खबर ल्याए। उसै पनि घर परिवार, बुबा आमालाई दिनेश माओवादी भएर काम गरेको मन परिरहेको थिएन। त्यसमाथि पक्राउ गर्ने सुचना आएपछि दिनेशले आफ्नो घर छोडे। परिवार छोडे। आफू पढेको स्कुल छोडे। उनी सुरक्षित स्थान खोज्दै काठमाडौं आएको भोलिपल्ट उनको घरमा छापा मारिएको थियो।

उनी सुस्केरा हाल्छन्, 'यदि त्यो दिन म घरमा हुन्थेँ भने...'

अनि गायक बने

उनी काठमाडौं आए। आफन्तकोमा बसे। गीत गाउने रहर प्यासन दुवै थियो। त्यसपछि उनले संगीत सिके। यहि बीच उनले 'पैसा कसले बनायो' गीत सिर्जना गरेका थिए (यसको बारे माथि चर्चा गरिएको छ)।

उनले यो गीत ६१ सालतिर लेखेका हुन्। ५ वर्ष पछाडि रेकर्ड भएको हो भने रेकर्ड भएको ३ वर्ष पछि  पछाडि बजारमा आएको हो। यो गीतलाई संगीतको लागि धेरै संगीतकारको ढोकामा पुगेको उनी सुनाउँछन्। कसैले पनि उनको यो गीतलाई संगीत दिन तयार भएनन्। संगीतको विद्यार्थी उनलाई यो कुराले इगो जन्मायो। त्यसपछि उनी आफैले यो गीतलाई संगीत दिए। स्वर दिए।

त्यसपछि लगातार उनले गीत बजारमा ल्याए। १२ वटा एल्बम उनले निकालेका छन्। सोलो त उनले २ सयवटा भन्दा बढि गीत छन्। तर, उनलाई ‘फर्केर आएन मायालु’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘पैसा कसले बनायो,’  र केहि दिनमा आउदै गरेको ‘चरी’, ‘राजाको हात्ती’ चाहिँ उनलाई छुने बताउँछन्।

उनले गाएका गीतहरू चर्चामा छन्। हरेक वर्ष गीत निकालिरहेका छन्। र पनि उनी भने गुमनाम छन्। उनी भन्छन्, 'दर्शकले गीत सुनिरहनु भएको छ। मेरो गीत दर्शकले सुनिरहनु भएको छ भने म कसरी गुमनाम भएँ?', उनी उल्टै प्रतिप्रश्न गर्छन्।

दिनेश गौतम कि पुस्तक प्रसाद

नेपाली संगीत क्षेत्रमा गौतमले निकालेका गीत चर्चामा थिए। तर, पुस्तक प्रसादबारे भने धेरै व्यक्ति अन्जान थिए। पुस्तक प्रसाद नामको व्यक्तिले केवल गीत,गजल,कविता लेख्ने र संगीत गर्थे। उनका दुई गजलसंग्रह 'पुस्तक र 'फेरी गीत फेरी गजल' बजारमा थिए। एक रेडियोकर्मिले अन्तर्वार्ताका लागि पुस्तक प्रसादको खोजी गरे। ती साथीले गौतमलाई फोन गरेर पुस्तक प्रसादको नम्बर मागेको उनी सम्झन्छन्।  

पण्डितले राखिदिएको नाम हो पुस्तक प्रसाद। विद्यालयमा पनि उनको यहि नाम हो।  उनी आफ्ना पुस्तक र गीतको सिर्जना पुस्तक प्रसाद राख्छन्। गायकको नाममा दिनेश।  'कुन नाम मेरा लागि प्यारो भन्ने बारे प्रश्न नगरौं। यो अफ्ठ्यारो कुरा हो। किनभने यी दुवै नाम म यो दुनियाँमा आएपछि बनेका हुन्। मेरो जीवनमा दुवै नाम प्रिय छन्', उनी सुनाउँछन्।

विलासी जीवन के लाई भन्ने?

आफूलाई इगोले संगीतमा लाग्ने बताउने गौतम झट्ट हेर्दा  साधु, संन्यासी जस्तो देखिन्छन्। कतिपयले उनलाई  साधु भनिदिन्छन्। उनी हो मा हो मिलाउँछन्। कसैले उनलाई सन्यासी भनिदिन्छन्। उनी हो मा हो मिलाउँछन्।

आखिर उनी आफूलाई के मा सहज मान्छन् त? प्रश्न यसरी पनि सोध्नेको कमि छैन। 'समाजमा फरक फरक दृष्टिकोण र विचार भएका मान्छे छन्। सबैको मन राख्न सकिदैन', उनी यसको पनि सरल जवाफ दिन्छन्, जे छु वा जस्तो देखिन्छु। यस्तै छोडिदिएको हुँ । मैले आफूलाई बनाएर यस्तो भएको होइन। त्यसैले मलाई कसले के सम्बोधन गर्छ, मेरा लागि विशेष कुरा होइन।'

उनी देश घुमे। विदेश घुमे। सबै कुरा छोडेर अहिले केवल संगीतको साधनमा छन्। गीत गाउनु उनको रुची र सन्तुष्टिको आधार हो। उनी सरल जिन्दगी बाँच्न रुचाउने बताउँछन्। 'ठुलो घर, बैङ्क ब्यालेन्स, गाडी वा कुनै विलासिताका जीवन मेरो महत्वको विषय होइन। म एकदिन मर्नेछु तर अहिले बाँचिरहेको छु। हिँडिरहेको छु। मन लागेको काम गरिरहेको छु। यो नै मेरो सम्पती हो', उनी भन्छन्, 'यो भन्दा विलासी जीवन अरू के होला र?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.