मुख्यमन्त्री भट्ट मन्त्रिमण्डल विस्तारको तयारीमा

|

धनगढी : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ। समाजवादी संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।

समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले प्रदेश सरकारलाई समर्थन गर्ने बताइन्। यस्तै समाजवादी पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनेसमेत उनले बताएकी छन्।

सुुदूरपश्चिममा अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकार छ। माओवादी केन्द्रबाट सरकारको नेतृत्व त्रिलोचन भट्टले गरिरहेका छन्। प्रदेशमा तत्कालीन समयमा नेकपा एमाले ठूलो दल रहे पनि विभाजनपछि एमाले चौथोमा खुम्चिएको छ। एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) ले मात्र सर्मथन गरेमा पनि सुदूरपश्चिम सरकारलाई बहुमत पुग्छ।

प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद पुगेका छन्, जुन प्रदेश सरकारको बहुमत हो। यससँगै माओवादी सरकार जोगिने भएपछि मुख्यमन्त्री भट्ट ढुक्क देखिएका छन्।

गत २५ जेठमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा एमालेका माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए भने नेपाली कांग्रेस तटस्थ बसेको थियो।

केन्द्र र कतिपय प्रदेशमा पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको गठबन्धन रहे पनि सुदूरपश्चिममा भने त्यस्तो नहुने नेताहरू बताउँछन्। कांग्रेस तत्काल सरकारमा सहभागी नहुने बताइएको छ भने जसपा पनि तटस्थ छ। तर, समाजवादीले भने सरकारमा सहभागी हुने जनाएको छ।

५२ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रको १३, कांग्रेसको १२, एमालेको ११, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १/१ जना सांसद छन्। यसबाट अब सत्तारुढ गठबन्धनमा ४० सांसद पुगेका छन्। गठबन्धनलाई दुई तिहाइ बहुमत पुगे पनि सरकारको संरचना हेरफेर हुने वा नहुनेबारे छलफल भएको छैन।

सरकारमा सहभागी भएका तर दल विभाजन हुँदा एमाले नछोडेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिइसकेका छन्। अब मन्त्रिपरिषद विस्तार गर्दा माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार हुने देखिएको छ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त सरकारले निरन्तरता पाउने बताउँदै अरु दल तत्काल सरकारमा सहभागी नहुने आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ पूर्णा जोशी बताउँछिन्।

‘नेकपा एमाले आधिकारिक रुपमा प्रदेश सरकारबाट फिर्ता आएको घोषणा गरेको छ,’ उनले भनिन्, ‘नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त सरकार बन्छ। दुुई पार्टीको बहुुमत भइसकेपछि कांग्रेस सरकारमा जानुु परेन र जाँदैन पनि।’ तर, कांग्रेस सँगको गठबन्धन भने यथावत रहने उनी बताउँछिन्।

माओवादी केन्द्रका सचेतक अक्कल रावल एकीकृत समाजवादीको समर्थनमा प्रदेश सरकारको नेतृत्व मुुख्यमन्त्री भट्टले नै गर्ने बताउँछन्। ‘इच्छा प्रकट गरेको खण्डमा कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्ने हुन्छ, तर सरकारको नेतृत्व माओवादीले नै गर्छ,’ उनले भने। सरकारको नेतृत्व फेरबदल हुने अवस्थामा एकीकृत समाजवादीको सम्भावना रहेको उनी बताउँछन्।

यता, कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि गठबन्धनको केन्द्रीय नेतृत्वले गर्ने निर्णयका आधारमा अघि बढ्ने बताए।
मन्त्रीमण्डल विस्तारको तयारी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले मन्त्रीमण्डल विस्तार गर्ने तयारी थालेका छन्। रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

एमाले विभाजनपछि सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते राजीनामा दिएका थिए।

त्यसपछि रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा केही दिनभित्रै मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। आर्थिक मामिला तथा योजनामन्त्रीमा समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङको चर्चा छ।

तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र १ (क) बाट विजयी भएका थिए। तत्कालीन एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारीसमेत उनले सम्हालेका थिए। नेपालनिकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए। विभाजनपछि उनले एकीकृत समाजवादी रोजेका हुन्।

सुदूरपश्चिममा अहिले मुख्यमन्त्रीसहित ९ मन्त्री छन्। एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लालबहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यस्तै एकीकृत समाजवादीका २ राज्यमन्त्री मुनाकुमारी साउद र चुनुकुमारी चौधरी पनि प्रदेश सरकारमा छन्। उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा माओवादी केन्द्रकी विनितादेवी चौधरी मन्त्री तथा मानबहादुर सुनार राज्यमन्त्री र मानबहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.