प्रदेश सरकार भन्छ- हामीलाई अधिकार छैन

|

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको धातुजन्य खनिजको २७ वटा खानी पहिचान गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारले प्रदेशको ६ जिल्लामा २७ वटा खानीको पहिचान गरेको हो। मन्त्रालयको उद्योग शाखाका अधिकृत हेम पाठकले सरकारले फलाम, तामा, चाँदी, टिन, युरेनियम र बेरिलियम (खैरो धातु) को खानी पहिचान गरेको जानकारी दिए।

तीमध्ये विश्वमा नै सबैभन्दा शक्तिशाली र बहुमूल्य रहेको युरेनियम खानी बागमती प्रदेशको दुईवटा जिल्लामा पहिचान भएको छ। पाठकका अनुसार मन्त्रालयले गरेको अध्ययनअनुसार मकवानपुरको बकैया गाउँपालिका–२ तीनभङ्गाले र सिन्धुलीको बुकाखोलामा बहुमूल्य धातु युरेनियम पहिचान भएको छ। 

विश्वमा नै बहुमूल्य र शक्तिशाली मानिने युरेनियम नेपालमा रहेको पहिचान भएपनि यसको उत्खनन् र सदुपयोग गर्न सकिन्छ की सकिँदैन भन्नेबारे भने अध्ययन नभएको उनको भनाई छ। 

प्रदेश सरकारले धातुजन्य पदार्थको अध्ययन, अनुसन्धान, पहिचान र संरक्षण गर्ने काम मात्रै गर्न सक्ने भन्दै यस्ता धातु उत्खनन् गर्ने अधिकार प्रदेश सरकारसँग नभएको उनले बताए।

‘सरकारले गरेको अध्ययनअनुसार बागमती प्रदेशको १३ जिल्लामा २७ प्रकारका धातुजन्य खनिजको खानी पहिचान भएर वि.सं. २०७४ सालमा नै केन्द्र सरकारलाई प्रतिवेदन बुझाएको छ। त्यसमा शक्तिशाली र बहुमूल्य धातु युरेनियमको बारेमा पनि छ। प्रदेश सरकारले पहिचान गर्नेबाहेक अरु काम गर्ने अधिकार छैन,’ उनले भने।  

के हो युरेनियम ?

युरेनियम आणविक हतियार र आणविक उर्जा भट्टीमा प्रयोग हुने रेडियोधर्मी पदार्थ हो।

विश्वको आणविक भट्टीबाट उर्जा उत्पादनको स्थिति हेर्दा बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लाभेनिया, स्वीडेन, स्वीट्जल्याण्ड र युक्रेनमा ३० प्रतिशत वा यो भन्दाबढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ। 

वैज्ञानिक रुपमा दुई प्रकारका युरेनियम पाइन्छ। युरेनियम–२३८ र युरेनियम-२३५। प्राकृतिक रुपमा पाइने युरेनियम–२३८ लाई आणविक प्रशोधन केन्द्रमा प्रशोधन गरी युरेनियम–२३५ नामको पहेंलो केक (एल्लो केक)को रुपमा तयार पारिन्छ। प्रशोधित युरेनियम अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ देखि २० अर्ब रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । 

३ लाख टन कोइला बाल्दा आउने विद्युत शक्ति सिर्फ एक किलो युरेनियम–२३५ बाट प्राप्त हुन्छ। एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा प्राप्त हुने यससम्बन्धी अनुसन्धानले देखाएको छ। 

उत्खनन् सम्भव छ ?

नेपालमा सन् १९८० को दशकदेखि नै युरेनियम अन्वेषणको काम भएको भएपनि  सरकारले आवश्यक ऐन नबनाउँदा नेपालमा युरेनियम उत्खनन् सम्भावनाको बारेमा अध्ययन नै हुन सकेको छैन।

युरेनियमलाई उत्खनन् गरेर सदुपयोग गर्न सकेमा नेपालीहरुको प्रतिव्यक्ति आयमा नै उल्लेख्य वृद्धि गर्न सकिने विज्ञहरु बताउँछन्।   

उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाले सरकारले खानीसम्बन्धी ऐन संसदबाट पारित नगर्दा युरेनियमबारे गहन अध्ययन तथा अन्वेषण हुन नसकेको बताए। 

सरकारले ऐन नबनाएको र युरेनियम मानव स्वास्थ्यका लागि जोखिमयुक्त काम भएकाले विभागले पनि यसको अध्ययनमा चासो नदिएको बताए। 

‘युरेनियमबाट नेपाललाई धेरै फाइदा हुनसक्छ तर यसबारेमा सरकारले पनि चासो दिएको छैन। हामीसँग दक्ष प्राविधिक पनि छैनन्। त्यसैले कति परिमाणमा युरेनियम छ र उत्खनन् गर्न सम्भव छ की छैन भन्ने विषयमा हालसम्म अध्ययन भएको छैन,’बास्कोटाले भने।

आणविक हतियारको रुपमा नभएर आणविक भट्टीको रुपमा प्रयोग गर्न सकेमा युरेनियमबाट नेपालको विकासक्रममा ठुलो टेवा पुग्ने उनको भनाई छ।

‘युरेनियमको काम गर्ने मान्छेको पुरै जीवन नै जोखिममा हुन्छ। विदेशतिर यसमा काम गर्नेलाई १० वर्षमा रिटायर गर्छन् तर हाम्रोमा सरकारले चासो नै दिएको छैन। त्यसैले हामीले हामी आफै जोखिममा भएकोले काम नगरेको हो। सरकारले बुझेर राम्रो टिम बनाउँछ भने काम हुन्छ,’बास्कोटाले थपे।

नेपालमा युरेनियम उत्खनन् सम्भव छ छैन भन्नेबारे अध्ययन नभएता पनि यसको उत्खनन् गर्दा भने धेरै जोखिम हुने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.