|

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकारमा एक मन्त्रालय रिक्त छ। नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले राजीनामा दिएपछि मन्त्रालय रिक्त बनेको हो।

शाहको राजीनामापछि आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूमातहत नै राखेका थिए। एमालेको तत्कालीन माधव नेपाल समूहको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय अझै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा पर्ने देखिएको छ। मन्त्रिपरिषद् भोलि विस्तार हुने बताइएको छ।

रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण भोलि हुने नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले जानकारी दिए। भोलिका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको उनले बताए।

मुख्यमन्त्री त्रिलोचन भट्ट आज डोटी भएकाले भोलिका लागि शपथ ग्रहण तय गरिएको सोडारीले बताए। समाचार स्रोतका अनुसार एकीकृत समाजवादीले पाउने उक्त मन्त्री पदका लागि नाम टुंगो लगाइएको छ। अर्थमन्त्री समाजवादीका सांसद तारा लामा तामाङ बन्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।

माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी सहभागी छ। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक/एक सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.