|

धनकुटा : पूर्वी पहाडी जिल्ला तेह्रथुममा स्वास्थ्य चौकी बनेको २ वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आएको छैन।

तेह्रथुमको छथर गाउँपालिका वडा–४ मा रहेको फाक्चामारा स्वास्थ्य चौकीको बनाइएको नयाँ भवन सञ्चालनमा नआएको हो। स्वास्थ्य चौकी भवन शहरी विकास मन्त्रालयको १ करोड ३९ लाख लगानी निमार्ण कार्य सम्पन्न भएको थियो।

स्वास्थ्य चौकी भवन तयार भएसँगै ०७६ साल पुस २६ गते छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले उदघाटन गरेका थिए। दुईतले पक्की भवन यतिबेला झाडीले ढाकेको छ। प्रयोगमा नआउँदा भवन दुई वर्षमै जीर्ण हुन थालेको छ।

हिमालयन ओम जाम्बियो जेभी निमार्ण कम्पनीले भवन बनाएर गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। स्थानीय निरोज निरौलाले भने, ‘दुई वर्षमा पनि सञ्चालनमा नआउँदा झाडीले ढाकेको छ, झ्यालका सिसा फुटेका छन।’ स्थानीय सरकारले बेवास्ता गरेको गुनासो उनले गरे।

कोरोना महामारीको समयमा पनि भवन सञ्चालनमा नआउँदा सेवा प्रवाहमा समस्या भएको अर्का स्थानीय मदन फुयालले दुखेसो गरे। कोरोनाका बेला पनि पुरानो साँघुरो भवनबाट दिने सेवा असहज भएको उनको भनाइ छ। भवन सञ्चालनमा नआउँदा करोडौं लगानी भएको भौतिक संरचनाको उपयोग नभएको उनले बताए।

तेह्रथुमको छथर गाउँपालिका वडा नं २, ३, ४ र ५ का बासिन्दाले यो चौकीको पुरानो भवनबाटै सेवा लिँदै आएका छन्। यता छथर गाउँपालिका–४ का वडाध्यक्ष उपेन्द्र लिम्बूले भने बजेट बिनियोजनमा शीर्षक नमिलेका कारण समस्या भएको बताए।

उनले भवन निर्माण भए पनि त्यसको व्यवस्थापन र बजेटमा समस्या आएकाले यस्तो भएको बताए। उनले गाउँपालिकाले केही बजेट व्यवस्थापन गरेर सञ्चालनमा ल्याउन पहल गर्ने तयारी गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.