|

तनहुँ : व्यास नगरपालिकाले सञ्चालन गरेको व्यास नगर कोभिड १९ पिसिआर प्रयोगशालाले अनुमति पाएको छ। प्रयोगशाला व्यास–१० दुम्सीमा छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशले भदौ ३० गते स्थलगत अनुगमन गरेपछि सञ्चालनको अनुमति दिएको हो। प्रयोगशालाले मापदण्ड पूरा गरेकाले पिसिआर परीक्षणको तयारी गरिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए। उनका अनुसार प्रयोगशालामा एक पटकमा ९६ जनाको पिसिआर परीक्षण गर्न सकिनेछ। पिसिआर परीक्षणका दुई घण्टामा नतिजा प्राप्त हुने सोतीले बताए।

अनुगमनपछि पेश गरिएको प्रतिवेदन र सोही मितिमा उक्त प्रयोगशालाबाट गरिएको नमुनाको प्रमाणीकरणको आधारमा प्रदेशले प्रयोगशाला सञ्चालनको अनुमति दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनका अनुसार पिसिआर विधिबाट २० जना नमुना परीक्षण गरी उक्त प्रयोगशालामा नतिजा प्रमाणीकरणले मापदण्ड पुगेको देखिएको हो।

यसअघि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाउनुपर्ने बाध्यता रहेको थियो। पोखरा पठाउँदा नतिजा आउन ढिलाई हुने भएपछि नगरपालिकाले पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन गर्न थालेको हो।

प्रयोगशाला निर्माणका लागि संघीय सरकारले २५ लाख रुपैयाँ सहयोग गरेको थियो। प्रयोगशाला निर्माणका लागि नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको तलबभत्ता १२ लाख रुपैयाँ र कर्मचारीले पनि एक महिनाको तलबवापत ६ लाख रुपैयाँ प्रयोगशाला निर्माणका लागि सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.