|

भक्तपुर : टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर शनिबारदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ।

स्थानीय गुठियारहरुले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी, भैरवनाथको अर्को स्वरुप मसान भैरव जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म धुमधामका साथ मनाउँछन्।

संस्कृतिकर्मी हरिशरण राजोपाध्यका अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे। त्यसपछि जयन्तलाई दुई हात पछाडी बाँधेर राखे। पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच संग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती छ।

भक्तपुर नगरको इताछे., तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछें लगायतका स्थानहरुमा शुक्रबार धार्मिक पूजाआज गरी विधिवत रुपमा यमोः द्यो ठड्याइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.