‘पाँच दलीय गठबन्धनलाई तल्लो तहसम्म कायम राख्छौँ’
‘पाँच दलीय गठबन्धनलाई तल्लो तहसम्म कायम राख्छौँ’
हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अबको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन्।
शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि केपी ओलीको नेकपा एमाले कता छ? भनेर टर्च बालेर खोज्नुपर्छ।’
आफ्नो पार्टीले गठन भएको एक महिनामै केपी ओलीलाई धुलो चटाएको दाबी गरे। ओलीले एमालेलाई आफूसँगै दक्षिणपन्थीतर्फ लगेको आरोप लगाए। ओली व्यक्तिवाद र गुटवादमा रमाएको भन्दै दक्षिणपन्थी दिशामा लागेर विदेशीको अगाडि लम्पसार परेको समेत दाबी गरे।
अध्यक्ष नेपालले भने, ‘ओलीको पार्टीलाई हाम्रो समाजवादीसँग दाँज्नै मिल्दैन। हाम्रो पार्टी नेपाली जनताको लागि बनेको हो। हामी आफ्नो कमजोरी मान्न सक्छौँ। तर, ओली आफूविरुद्ध केही सुन्न सक्दैनन्। उनी आफ्नो हुकुम चलाएर दलाल पुँजीवादसँग साँठगाँठ गर्छन्।’
सुदूरपश्चिम र २ नम्बर प्रदेशमा केपी ओलीलाई पछि पारेर समाजवादी अगाडि बढिसकेको भन्दै ओलीको पार्टी र गुटलाई धुलोमा मिलाएको उनको भनाइ छ। प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने नेपालले दाबी गरे।
पार्टीमा भएको कमजोरीलाई सुधारेर अघि बढ्न सुझाव दिने सबैलाई ओलीले शत्रुको व्यवहार गर्ने गरेको भन्दै ओलीको अहंकारले एमालेको ओरालो यात्रा तय भएको दाबी गरे।
‘आफ्नो पद जोगाउन पटक-पटक प्रतिनिधिसभा भंग गरेका ओलीलाई संविधानको रक्षाको लागि हामीले सरकारबाट निकाल्यौँ। ओलीको अहंकारले गर्दा एमाले सकिने अवस्था आएको छ’ अध्यक्ष नेपालले थपे।
आफ्नो पार्टीले जबज मानेको अगाडि बढ्नेसमेत प्रष्ट्याए। समाजवादीको पार्टी विरोधीहरुले जबज नमानेको गलत प्रचार गरेको भन्दै नेपालले आफ्नो पार्टीले जबजलाई आत्मसात गरेको स्पष्ट पारे।
नेपालले केन्द्रमा रहेको पाँच दलीय गठबन्धन जिल्लामा पनि बनाउन आवश्यक रहेको बताएका छन्।
नेपालले भने, ‘केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई जिल्लामा पनि कायम गरेर निर्वाचनमा जानुपर्छ। राम्रो कामको लागि गठबन्धनलाई केन्द्रबाट तलसम्म लैजान्छौँ। प्रदेशमा गठबन्धनको सरकार बनिसकेपछि स्थानीयस्तरमा पनि गठबन्धन बनाइन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।