|
धनकुटा नगरपालिकामा भएको नेपाली कांग्रेसको अधिवेशन। तस्बिर : ईश्वर थापा

धनकुटा : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत धनकुटामा पार्टी सभापति शेरबहादुर देउवाभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।

धनकुटाका ७ स्थानीय तहमा पौडेल समूहले ४ र देउवा समूहले २ ठाउँमा नेतृत्व लिएको छ। एउटामा अनिश्चितकालका लागि स्थगन भएको छ।

६ स्थानीय तहको अधिवेशनमध्ये ४ वटामा सर्वसम्मत भयो भने २ वटामा चुनाव भयो।

सर्वसम्मत हुनेमा साँगुरीगढी गाउँपालिकामा स्थानीय तहको सभापतिमा नेपालधन राई र छथर–जोरपाटी गाउँपालिकाका सभापति छत्र सुब्बा दुवै जना पौडेल समूहका हुन्।

यस्तै निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुवराज राया र चौबिसे गाउँपालिकाका गुणराज राई पनि पौडेल समूहका हुन्।

सर्वसम्मत हुनेमा पाख्रिवास नगरपालिकामा प्रेम भण्डारी र सहिदभूमि गाउँपालिकाका दिपेश राई देउवा समूहका हुन्।

देउवा पक्षमै भिडन्त

सर्वसम्मतिका लागि पटक पटक कार्यतालिका फेरिएको धनकुटा नगरपालिकामा अनिश्चितकालका लागि निर्वाचन स्थगन भएको छ।

निर्वाचन अधिकृत सुन्दरकुमार श्रेष्ठले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगन भएको हो। नयाँ मतदान अधिकृत तोकिएपछि मात्रै निर्वाचन अघि बढ्ने भएकाले चुनाव प्रक्रिया अनिश्चित भएको हो।

धनकुटा कांग्रेसका सचिव विजयसन्तोषी राईले मतदान अधिकृतको राजीनामा स्वीकृत नभएकाले उनैले मतदान प्रक्रिया अघि बढाउने बताएका छन्।

जिल्लामा खटिएको केन्द्रीय प्रतिनिधिले मतदान अधिकृत तोक्ने भएकाले श्रेष्ठकै सम्भावना रहेको राईको भनाइ छ।

धनकुटा नगरपालिकामा अभिषेक कर्माचार्य र नरेश श्रेष्ठ नेतृत्वको आकांक्षी छन्। दुवै जना देउवा समूहका हुन्।

दुवै एउटै समूहका भएकाले मिलाउने प्रयास नेताहरूले गरिरहेका छन्। तर, दुवै जना आफूले नछाड्ने अडानमा छन्।

पूर्वसभापति कर्माचार्य र कोषाध्यक्ष श्रेष्ठबीच 'भिडन्त'

नगर सभापतिका आकांक्षी कर्माचार्य कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा धनकुटाका पूर्वसभापति मनोहरनारायण श्रेष्ठनिकट मानिन्छन् भने श्रेष्ठ कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईनिकट मानिन्छन्।

एउटै समूहमै पनि सहमति नभइ चुनाव हुँदा कर्माचार्य र श्रेष्ठको प्रतिस्पर्धालाई मनोहर र दिनेश बीचको भिडन्तका रुपमा लिइएको छ।

उनीहरू दुवै कांग्रेस धनकुटाको जिल्ला सभापतिका आकांक्षी भएकाले नगरपालिकामै आपसमा जुहारी हुन लागेको बताइन्छ।

अन्तिम अवस्थासम्म सहमति प्रयास भइरहेको कोषाध्यक्ष राईले बताए। उनले सकेसम्म मिलाउने नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताए।

पूर्वसभापति श्रेष्ठले जसरी पनि सहमति हुने दाबी गरे। उनले वडामा सहमति हुन पनि समय लागेकाले नगरमा केही बढी समय लाग्नु अनौठो नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.