|

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो।

गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

‘न्यूनतम सर्त मापन मूल्यांकनमा लगातार दुई वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल पर्वत अस्पतालले मन्त्रालयको अर्को मूल्यांकनमा समेत उत्कृष्टता हासिल गरेर निरन्तर आफ्नो अब्बलता प्रमाणित गरेको छ‚ उनले भने,  ‘१२ वटा सूचकका आधारमा मूल्यांकन गरेकोमा हामीले प्रथम स्थान पाएका छौँ। अस्पतालको काम चुस्त दुरुस्त र तीव्र गतिमा भएका कारण नै यो नतिजा आएको हो।

मंगलवार पोखरामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको उपस्थितिमा भएको वार्षिक समीक्षा कार्यक्रममा पर्वत अस्पतालले गरिरहेको प्रगतिबारे जानकारी गराइएको थियो। मूल्यांकनका आधारहरूमा उपचार सेवा, प्रशासनिक चुस्तता, व्यवस्थापकीय पक्ष, सुशासन र रिपोर्टिङ राखिएको मन्त्री मधुमाया अधिकारीले बताइन्।

पर्वत अस्पताल १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा स्तरोन्नति गर्न लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.