|

जाजरकोट : उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन्। उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्।

उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिए। अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहेंलपुर अवस्थामा रहेको छ।

बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन्। उवा भित्र्याउनका लागि गाउँभरिमा एकै साइत कुरेर भित्र्याउने चलन छ। सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउँमा गहुँ उत्पादन हुने गर्दछ। अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ। आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ।

हिमालमा धेरै पानी पर्दैन। उवाका लागि पानी आवश्यक हुन्छ। पानी परेपछि यसले धेरै उत्पादन हुन्छ। उवाको रोटी, सातु र अरु परिकार बन्छ। रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन्। सरकारी अनुदानको चामल नियमित नहुँदा उवालाई नै बाँडीचुड गरेर खाने गरिन्छ। व्यापारीले पुर्‍याएको चामल धेरै महँगो हुन्छ। कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ।

मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो। आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वसासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन्। हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयवासी इ गुरुङले बताए।

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन। स्थानीय बजारमा प्रतिक्विन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ। अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताए। पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.