सातदोबाटोबाट कार्यक्रमस्थलसम्म जान र आउन बसको व्यवस्था

|

काठमाडौं : नेकपा (एमाले)ले गर्न लागेको पार्टीको पहिलो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। ललितपुरको गोदावरीस्थित नवनिर्मित सम्मेलन केन्द्रमा असोज १५ देखि १७ गतेसम्मका गर्न लागेको महाधिवेशनको तयारीमा एमाले जुटेको हो।

पार्टीको विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको र केही कामलाई अन्तिम रूप दिने तयारी भइरहेको विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले बताए। पार्टीभित्र लामो उतारचढावपछि गर्न लागेको विधान महाधिवेशनपछि पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ।

नेकपाको एकता भंग भएपछि माधव नेपाल समूहले पार्टीबाट विद्रोह गरेर गएका छन्। भने, केही माओवादी केन्द्रका नेता एमालेमै रहेका छन्। 

महाधिवेशनमा पाँच हजारभन्दा धेरै संख्यामा प्रतिनिधि उपस्थित हुने उनले बताए। महाधिवेशनमा ठूलो संख्याका प्रतिनिधिहरूका सहभागी हुने भएकाले हलभित्र तीन हजार जना हट्ने कुर्सी राखिनुका साथै बाहिर दायाँबायाँ थप दुई हजार राख्‍ने कुर्सी राखेर व्यवस्थापन गर्ने भट्टराईको भनाइ छ। 

ठूलो संख्यामा प्रतिनिधि उपस्थित हुने भएकाले कोरोनाको जोखिमलाई लक्षित गरेर सबैलाई अनिवार्य खोपको व्यवस्था गरेको नेता भट्टराई बताउँछन्। 

उनले भने, ‘उहाँहरू अधिकांशले खोप लगाइसक्नुभएकै होला। लगाउन बाँकी भएकाहरूलाई पनि व्यवस्थापन गर्छौँ। यस्तै, त्यहाँ उपस्थित हुनेहरूलाई मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य रूपमा गरेका छौँ। सबैको स्वास्थ्य परीक्षणसमेत हुन्छ। 

आवासको जिम्मा प्रदेश कमिटीलाई 

महाधिवेशनमा उपस्थित हुने प्रतिनिधिहरूलाई आवासको व्यवस्थापन प्रदेश कमिटीलाई जिम्मा दिइएको  पनि नेता भट्टराईले बताए। 

‘हामीले बस्ने व्यवस्था प्रदेश कमिटीलाई दिएका छौँ। गोदावरीमा  सबै व्यवस्थापन गर्न नसक्ने भएकाले बस्नको लागि काठमाडौंमा तय गरेका छौँ’ उनले भने, ‘उहाँहरूलाई सातदोबाटोबाट कार्यक्रमस्थलसम्म लान र ल्याउनका लागि आरामदायी बसको व्यवस्था गरेका छौँ।’ 

धेरै उपस्थित हुने भएकाले ट्राफिक व्यवस्थापनबारे पनि छलफल भइरहेको उनको भनाइ छ। प्रतिनिधिहरूलाई बिहानको खाना र दिउँसोको खाजा व्यवस्थापन कार्यक्रमस्थलमै हुने उनले बताए। खाना र खाजाको लागि व्यवसायीहरूसँग टेन्डर आह्वानसमेत गरेको छ। 

यस्तै, प्रचारप्रसारका सञ्चारमाध्यम र डिजिटल बोर्डको प्रयोग गर्ने सदस्य भट्टराईले बताए। 

महाधिवेशनको व्यवस्थापनका लागि एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा कमिटी गठन गरेको थियो।  कमिटीमा शेरबहादुर तामाङ, खिमलाल भट्टराई, कृष्णगोपाल श्रेष्ठ, विनोद श्रेष्ठ, सुशीला नेपाल, सुजिता शाक्य, पासाङ शेर्पा सदस्य छन्। 

पार्टी इतिहासमै पहिलोपटक गर्न लागेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।

यसअघि बसेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको सुझावलाई समेटेर तीनवटै प्रतिवेदन पारित भएको थियो। 

कोको हुन्छन् सहभागी?

महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य,  केन्द्रीय विभागका सचिवलगायत १५ जना, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य उपस्थित हुनेछन्। 

यस्तै, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य, प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी र सोसरह मान्यता पाएका कमिटीका पदाधिकारी र सदस्य, हरेक निर्वाचन क्षेत्रबाट दलित, महिला र खुला सदस्य, प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना सहभागी हुनेछन्। 

पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीतहरू सहभागी हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.