|

काठमाडौं : कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन्।

दुई वर्षअघि गएको पहिरोबाट पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन्। पहिरोबाट प्रभावित नागरिकले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

वैज्ञानिक मापदण्डविपरीत वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ। पहिरोको कारणले गाउँ नै विस्थापित भइरहेका छन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गावै विस्थापित हुन थालेका हुन्।

पीडित स्थानीय गंगाराम थापाले चुरेका विभिन्न बस्तीमा पहिरो जान थालेपछि जंगल आएको बताए। उनले भने‚ ‘घर छोडेर जंगल तथा सुरक्षित स्थानमा आयौँ।’ अहिले सबै विस्थापित घरविहीन बन्दै गएका छन्।

गाउँमा बस्न सक्ने अवस्था नभएपछि केही सडकमै बसिरहेका छन्। पहिरो प्रभावित परिवारलाई दैनिक छाक टार्न पनि समस्या भएको छ। विस्थापितका लागि सरकारले केही नगरेको आरोप स्थानीयले लगाएका छन्।

गत वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणीका ३ सय परिवार विस्थापित भएका छन्। यस्तै भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडानम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्ती नराम्ररी प्रभावित भएका छन्। उक्त स्थानमा घर, गोठ जमिन चर्किनुका साथै ती बस्ती पहिरोको उच्च जोखिममा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.