|

कञ्चनपुर : भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा महाकाली शारदा विद्यापीठ वेद विद्याश्रम गुरुकुल सञ्चालनमा आएको छ।

वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पुर्‍याउन आवासीय गुरुकुल सञ्चालन गरिएको हो। नगरपालिकाको शिक्षा शाखाले गुरुकुलमा आधारभूत तहको कक्षा ६ सम्मको पठनपाठन गर्ने स्वीकृति दिएको छ।

अनौपचारिक तवरबाट गुरुकुलमा शैक्षिक सत्र ०७७ देखि पठनपाठन सुरु गरे पनि शैक्षिक सत्र ०७८ देखि औपचारिक तवरबाट कक्षा सञ्चालन गरी पठनपाठन भइरहेको गुरुकुलका संस्थापक सदस्य मोहनचन्द्र जोशीले बताए।

‘गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौं,’ उनले भने, ‘विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य छ।’

पाठयक्रमअनुसार नेपाली, अंग्रेजी, गणित, कर्मकाण्ड, संस्कृत व्याकरण, नीतिशास्त्र र संस्कृत संरचनालगायत विषय पठनपाठन भइरहेका छन्। 

गुरुकुलमा २ छात्रा र १० छात्र गरी १२ जना भर्ना भएका छन्। चालु शैक्षिक सत्रमा १५ जना विद्यार्थी भर्ना लिने गुरुकुलले जनाएको छ।

‘मुठ्ठीदानबाट गुरुकुल सञ्चालन भइरहेको छ,’ संस्थापक सदस्य जोशीले भने, ‘केही दाताले सहयोग गरेका छन्। दाताकै भरमा छौं।’

गुरुकुल सञ्चालनका लागि छुट्टै भवनसमेत अभाव रहेको छ। धाम क्षेत्रकै आश्रममा पठनपाठन हुँदै आएको छ।

शिक्षक दरबन्दीका लागि नगरपालिकासँग आग्रह गरेको उनले बताए। गुरुकुलमा दुई शिक्षकले पठनपाठन गरिरहेका छन्।

मुठ्ठी दानबाट संकलित रकमबाट शिक्षकको तलब र गुरुकुलमा बसेर पढ्दै आएका विद्यार्थीको खाना खर्च बेहोरिँदै आएको छ।

शिक्षकको पारिश्रमिकका लागि ३५ हजार र विद्यार्थीको खाना खर्च १५ हजार गरी ५० हजार रूपैयाँ मासिक खर्च हुने गरेको छ।

गुरुकुलमा बझाङ, कैलाली र कञ्चनपुरका विद्यार्थी अध्ययनरत छन्। सुदूरपश्चिम प्रदेशमा १८ वटा गुरुकुल सञ्चालनमा छन्। तीमध्ये दुई वटा कञ्चनपुरमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.