|

धनकुटा : पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले धनकुटामा आरन लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको धनकुटा नगरपालिका–२ का गणेश विश्वकर्मा बताउँछन्।

राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएको महालक्ष्मी नगरपालिका–२ का तुलाराम लोहार बताउँछन। युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेको उनको भनाइ छ।

‘दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ‚’ उनले भने, ‘गाउँमा म मात्र यो पेशा एक्लै धान्दै आएको छु। दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन। तालिमका लागि सरकारबाट सहयोग भएमा सहज हुन्थ्यो।’

नयाँ पुस्ताले पेशा छाड्दै गएका कारण आरन हराउँदै गएको मोहन कामीले बताए। राज्यले अन्य पेशा व्यवसायीलाई जस्तै आरान पेशा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेशामा अडिरहने उनको भनाइ छ। एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनले बताए। सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेशामा भने परिवर्तन हुन नसकेको मोहन बताउँछन्। आरन पेशा व्यावसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेशा ओझेलमा पर्न थालेको बताइन्छ।

यो पेशामा रहेकालाई आगो, धुवाँ, धुलो र फलामसँग रमाउनु सामान्य बनिसकेको हुन्छ। यही आरनबाट उत्पादन भएको सामाग्री बिक्री उनीहरूको मुख्य आम्दानी स्रोत हो। आरनमा बनाइएका सामाग्री बेचेर दशैं मनाउने तयारी गर्दै आएको तिलबहादुर शंखरको भनाइ छ। कृषि औजार बिक्री गरेर मासिक २५ देखि ३५ हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। तर‚ उत्पादित सामग्रीको बजारको समस्या हुँदै आएको उदय शंकरको भनाइ छ।

१३ वर्षको उमेरदेखि आरन पेशा अँगालेका निपेन्द्र शंकर ६६ वर्ष हुँदासम्म यही पेशामा सक्रिय रहेको बताउँछन्। परम्परागत रुपमा गर्दै आएको पेशाबाट परिवार धान्न समस्या नभए पनि आधुनिकीकरण गर्न नसकेको उनको भनाइ छ।

यहाँ उत्पादन गरिएका सामाग्री स्थानीय बजार र छिमेकी जिल्लाहरुमा मात्रै निर्यात हुँदै आएको छ। यो पेशामा आफ्नो भविष्य खोजी रहेका युवाहरुको लागि आधुनिक सामान र  बजारीकरणमा स्थानीय  सरकारले ध्यान दिनु पर्ने उनीहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.