|

म्याग्दी : यस वर्षको दशैँलाई लक्षित गरेर जोमसोमको बाटो हुँदै करिब १२ हजार भेडा-च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका छन्।

दुई वर्षअघिसम्म २० देखि २५ हजारको हाराहारीमा निकासी हुँदै आएका भेडा-च्याङ्ग्रा कोभिड १९ का कारण तिब्बतबाट कोरला नाका हुँदै मुस्ताङ ल्याउन नसकिएपछि बजारमा कम मात्रामा निकासी गरिएको हो।

बजारमा निकासी गरिएका भेडा-च्याङ्ग्रामध्ये आठ हजार मुस्ताङको उत्पादन र बाँकी चार हजार  डोल्पाबाट ल्याइएको भेटरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए। उनका अनुसार मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायतका स्थानका किसानले पालेका भेडा-च्याङ्ग्रा यस वर्षको दशैंका लागि ल्याइएको हो।

मुस्ताङबाट निकासी भएका अधिकांश भेडा-च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिएको छैन। ‘अहिलेसम्म जम्मा ३ हजार ५६० वटा भेडा-च्याङ्ग्राको मात्र स्वास्थ्य परीक्षण भएको छ‚’ अधिकृत पोखरेलले भने‚ ‘व्यापारीहरुले संख्या घटाएर निकासी गर्छन्।’

स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएकाले व्यापारीहरुले नकासी भएकामध्ये आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडा च्याङ्गाको स्वास्थ्य परिक्षण गर्ने प्रबन्ध मिलाएको छ। कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको जोमसोम पुगेर २०० वटा च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले बताए।

‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारमा खरिद गर्थ्यौं, यो वर्ष ३५ हजारसम्म परेको छ,’ उनले भने‚ ‘पोखरासम्म पुर्‍याएर बिक्री गर्दा ४० हजारसम्म पर्छ।’

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीहरुले भेडा-च्याङ्ग्राहरु बजारमा ल्याइसकेका छन्। बजारमा रोज्जा भेडा-च्याङ्ग्रालाई ५० हजार रुपैयाँसम्म पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.