|

अघिल्लो हप्ता बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन ड्रग्स केसमा समातिएपछि बलिउडमा एउटा तरङ्ग आएको छ। बलिउडलाई पछ्याउनेहरूले निकै चासोका साथ यो घटनालाई हेरिरहेका छन्। आर्यनलाई दोषी मान्ने र निर्दोष भन्ने दुवै खालका समूह बनेका छन्। यसको अनुसन्धान अझै जारी छ।

बलिउड कलाकारसँग सम्बन्धित केस यसरी प्रहरी या नार्कोटिक्स ब्युरोसम्म पुगेको यो पहिलो पटक भने होइन। बलिउडको इतिहासमा यस्ता खालका घटना धेरै घटिसकेका छन्। पछिल्लो समय हरेक वर्ष कुनै न कुनै घटनाले बलिउडलाई तताउने गरेको देखिन्छ।

यहाँ केही यस्ता घटनाको बारेमा दिइएको छ जसले बलिउडमा ठूलै हंगामा मच्चाए।

सञ्जय दत्त (१९९३)
१२ मार्च १९९३ मा मुम्बईमा भएको चरणबद्ध बम हमलामा बलिउड अभिनेता सञ्जय दत्तको नाम पनि मुछियो। गैरकानुनी रूपमा एके ५६ राइफल राखेको आरोपमा उनलाई गिरफ्तार गरियो। हतियार राखेको र पछि त्यसलाई नष्ट गरेको आरोपमा उनी ६ वर्ष जेल बस्नुपर्‍यो। 

त्यसअघि पनि लागुऔषध दुर्व्यसनीको आरोपमा सन् १९८२ मा उनी जेल परेका थिए।

सलमान खान (२००२)
सन् २००२ मा सलमान खानमाथि हिट एण्ड रनको आरोप लाग्यो। नशामा गाडी चलाएर फुटपाथमा सुतिरहेका पाँचजनाको ज्यान लिएको आरोप उनलाई लागेको थियो। लामो समय अदालत धाएपछि २०१५ मा उनले यो मुद्दाबाट सफाइ पाए।

योबाहेक उनलाई १९९९ मा पनि लोपोन्मुख जनावर कालो मृग मारेको आरोप लागेको थियो। जुन मुद्दा दुई दशकभन्दा बढी चल्यो। 

फरदिन खान (२००१)
सन् १९९८ मा प्रदर्शनमा आएको प्रेम आगनबाट उत्कृष्ट नवनायकको रूपमा फिल्मफेअर अवार्ड पाएका फरदिन २००१ मा ड्रग्स कारोबारमा समातिए। डिलरबाट कोकिन किन्दै गरेका वेला समातिएका उनी लामो समय जेल पनि बस्नुपर्‍यो। 

ओम जय जगदीश, हेइ बेबी, कुछ तुम कहो कुछ हम कहेँ जस्ता थुप्रै चर्चित फिल्ममा अभिनय गरेका उनी २०१० मा आएको दुल्हा मिल गया पछि बलिउडमा देखिएका छैनन्। 

रिया चक्रवर्ती (२०२०)
गत वर्ष अभिनेता सुशान्त सिंह राजपुतको निधपछि रियाको नाम ड्रग्स केसमा मुछिएको थियो। अनुसन्धानका क्रममा रिया लामो समय जेल पनि बस्नुपर्‍यो। रियालाई समातेपछि बलिउडका ५० भन्दा बढी कलाकारको नाम यो केसमा जोडिएको थियो। यो केसमा प्रहरी अझै पनि अनुसन्धान गर्दै छ। 

अमिताभ बच्चन (२०१७)
बलिउडका महानायक मानिने अमिताभ बच्चन पनामा पेपर्स स्क्यामका कारण विवादमा तानिएका थिए। करछलीको आरोप लागेका उनको घरमा आयकर विभागले छापा पनि मारेको थियो। उक्त आरोपलाई बच्चन परिवारले झूटो बताएको थियो। 

राहुल भट्ट (२००८)
बलिउड निर्देशक महेश भट्टका छोरा राहुल भट्टलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लागेको थियो। सन् २००८ को ठूलो बम हमला २६ ११ मा संलग्न रहेको भन्दै प्रति-आतंकवाद एजेन्सीको निगरानीमा उनी परेका थिए। उनीमाथि २६ ११ हमलाका नाइके डेविड हेडलीसँग सम्बन्ध रहेको आरोप पनि थियो।

सुरज पन्चोली (२०१८)
अभिनेत्री जिया खानको हत्याको आरोपमा सुरज विवादमा तानिएका थिए। जियाकी आमाले सुरजले गर्दा नै आफ्नी छोरीले आत्महत्या गर्नु परेको आरोप लगाएकी थिइन्। त्यसै कारण सन २०१८ मा सुरज जेलमा पनि बस्नुपरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.