|

पर्वत : सम्बन्धित विषयको अध्ययन नगरेर वा नजानेर भाषण गर्दा नेताहरू सामाजिक सञ्जालमा ट्रोल हुने गरेका छन्। यस्तै घटनाले प्रधानमन्त्री शेरबहादुर देउवा चर्चामा छन्।

गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने औपचारिक कार्यक्रममा प्रमुख अतिथि  प्रधानमन्त्री देउवाले बोल्ने क्रममा दुई ठाउँमा त्रुटि गरे। सामान्य नेताले बोलेको भए त्यति खोजीको विषय बन्ने थिएन होला। देशकै उच्च ओहदामा रहेका व्यक्ति नै चिप्लिँदा त्यसको चर्चा नहुने त कुनै भएन।

नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ अनावरण गरेपछि औपचारिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मीप्रसाद देवकोटा र युवाकवि मोतीराम भट्टको जन्म गण्डकी प्रदेशमा भएको बताए। देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते ‘लक्ष्मीपूजा’मा काठमाडौँको डिल्लीबजारमा र भट्टको जन्म वि.सं. १९२३ भदौ २५ गते काठमाडौँको भोसिको टोलमा भएको थियो। यसरी दुवै जनाको जन्मस्थान बागमती प्रदेश हो।

‘यो प्रदेश ठूलठूला विद्वान् जन्मेको ठाउँ हो, महाकवि लक्ष्मीप्रसाद देवकोटा यही ठाउँमा जन्मिनुभएको हो। त्यस्तै लेखनाथ पौडेल‚ मोतीराम भट्ट लगायत एक से एक विद्वान्‌ जन्मेको ठाउँ हो यो’‚ देउवाले भने, ‘देशकै विद्वान्‌ले जन्म लिएको ठाउँ गण्डकी पहिलो साक्षर प्रदेश घोषित भएको छ। गण्डकी सरकारसहित सबैलाई बधाई। यो प्रदेशको इतिहासमा नै ठूला विद्वान् जन्मेको ठाउँ हो यो।’

भाषणका क्रममा प्रधानमन्त्री देउवाले आफू जुन कार्यक्रमको प्रमुख हुन्, त्यसबारे पनि झूटो बोले। गत असोज ११ गते बागमती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेशका रूपमा घोषणा गरिएको थियो। यसअनुसार आइतबार घोषणा गरेपछि गण्डकी दोस्रो बनेको छ।

बोल्ने क्रममा देउवाले गण्डकीलाई पहिलो साक्षर प्रदेश भएको भन्दै बधाई दिए। ‘देशकै विद्वान्‌हरू जन्मिएको ठाउँ गण्डकी पहिलो साक्षर घोषित भएको छ’‚ भाषणका क्रममा देउवाले भनेका थिए।

साक्षर घोषणा समारोहमा उपस्थित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने, संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बताए। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपी कोइरालाले लिएको समाजवादी लक्ष्यमा शिक्षालाई प्राथमिकतामा राखिएको बताए।
तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन्। सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशत मात्रै नागरिक साक्षर भएको तथ्यांक छ।

मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वतका ९६.९३ प्रतिशत नागरिक साक्षर भएको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन्। मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो। २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ मा घोषणा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.