|
विकिपिडियाबाट

काठमाडौं : कोरोनाको जोखिम कम हुँदै गएकाले यो वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ। 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो। यो वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन्। यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार आज बिहान ७ः११ बजे हनुमानढोका दरबारक्षेत्रको मूलचोकमा यात्रा गराइएको छ। तुलजा भवानीलाई बिहान ८ः४४ बजेको साइतमा स्थिरासनमा राखिएको कार्यालय प्रमुख खनालले बताए।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गर्ने तयारी भएको छ। विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजाआराधना गरिन्छ। विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ।

 हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याउने तयारी

हनुमानढोका दरबारको दशैँघरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ। गोरखाबाट ३ः३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुगेको थियो। फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल पुगेको छ।

दिउँसो साढे चार बजेसम्म हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याइँदै छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारी उपस्थित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.