|

काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्व लक्षित महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गर्ने भएको छ। शुक्रबार महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य बस्तुको मूल्य र गुणस्तर हेरिनेछ।  

अनुगमन गर्ने निकाय धेरै भएकोले दिनदिनै अनुगमन टोली व्यापारीकोमा पुग्दा उनीहरूले असजिलो महसुस गर्ने गरेको खड्गी श्रेष्ठले बताइन्।

उनले भनिन्, ‘हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन, सेवा र वस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो, स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस्, अनुचित क्रियाकलाप गर्नेले उन्मुक्ति नपाओस्, तिहार र छठ पर्व लक्षित महानगर क्षेत्रको अनुगमनमा महानगरपालिकाले नेतृत्व गर्छ।’

वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमनमा निस्किने उनको भनाइ छ। 

बैठकमा दशैँका बेला महानगरपालिकाले गरेको अनुगमनको समीक्षा गरिएको थियो। त्यस क्रममा कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफूललगायत खाद्य बस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा.अवधेश झाले चौपाया बजार र पशुजन्य खाद्य बस्तु सम्बन्धी कामको विवरण प्रस्तुत गरेका थिए।

भण्डारीका अनुसार १४ दिनमा ३० वटा व्यापारिक फर्म तथा प्रतिष्ठानमा अनुगमन गरिएको थियो। तीमध्ये एक तरकारी व्यापारीलाई २० हजार रुपैयाँ र एक किरानासहित दुग्ध तथा अन्य खाद्य बस्तुको व्यापार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको थियो।

डा. झाका अनुसार यो वर्ष दशैँका लागि उपत्यकामा ९ सय ६२ वटा कुखुरा, १ हजार ४ सय २२ हाँससहित ५५ हजार २ सय ९३ वटा पशुपक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये कलंकी खसीबजारमा १५ वटा र टुकुचा खसीबजारमा ३ वटा गरी १८ वटा मृत खसीबोका गाडिएको थियो। 

१ सय ९६ वटा विरामी चौपाया पाइएका थिए। तीमध्ये ८ वटाको उपचार गरिएको थियो भने बाँकीलाई निश्चित समयसम्म विक्री रोक्का राखेर स्वच्छ भएपछि विक्री गर्न दिइएको थियो। 

बैठकमा योजना तथा अनुगमन मूल्याङ्कन एकाइ प्रमुख नरेन्द्रविलास बज्राचार्यले तालिकाबद्ध अनुगमनको तयारी भएको बताए। त्यस्तै उपनिर्देशक प्रह्लाद घिमिरेले अनुगमनको एकीकृत तथ्याङ्क संकलन हुनुपर्नेमा जोड दिए।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिनाले बजारमा बेचिने बस्तुको ढुवानी, भण्डारण र विक्री कक्षसम्मको चक्र हेर्नुपर्ने र आवश्यकताका आधारमा खरिद बिलसँग विक्री बिल भिडाउनुपर्ने अवस्था रहेको उल्लेख गरे। नेपाल च्याम्बर अफ कमर्स महानगर समितिका प्रथम उपाध्यक्ष तेवीन्द्ररत्न शाक्यले अनुगमनबाट स्वच्छ व्यापारमा फाइदा पुग्नुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.