|

काठमाडौं : नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। यसै महिनाको अन्त्यबाट सुरु हुने सहिद स्मारक ‘ए’  डिभिजन लिगमा क्लबहरू धमाधम खेलाडी अनुबन्धनमा ब्यस्त छन्।

चोटका कारण झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट पुन फुटबलमा फर्किन लागेका हुन्। विमलको आगमनले टोलीको मनोवल उच्च हुने क्लबले जनाएको छ। कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा विमलले दायाँ घुँडामा चोट बोकेका थिए।

उनलाई एन्फाले कतार फुटबल संघको समन्वयमा उपचार व्यवस्था गरेको थियो। उनी कतारस्थित एप्सटार अस्पतालमा उपचार गराएर ९ महिनामा पछि गत महिना स्वदेश फर्केका थिए। स्वदेश फर्किएलगतै विमल व्यक्तिगत प्रशिक्षणसँगै यु–२३ टिमसँग प्रशिक्षण गरेका थिए।

विमलले चोटबाट पुनरागमन गर्दा थप जिम्मेवार भएको भन्दै उनले अब पुन मैदानमा आफूलाई प्रमाणित गर्ने बताए। ‘चोट लागेपछि निकै कठिन अवस्थाबाट गुज्रिएको थिँए। मैले अहिले निकै मिहिनेत गरेको छु। अब मैदानमा खेल देखाउने प्रयास गर्ने छु’ उनले भने।

मच्छिन्द्रले यसअघि मनिष डाँगी, सुनिल बलसँग सम्झौता गरिसकेको छ। अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायतका पुराना खेलाडीसँग सम्झौता नवीकरण गरिसकेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.