चर्चामा शिकार आरक्ष, ओझेलमा उत्तरगंगा

|

म्याग्दी : जैविक र प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन क्षेत्र, नेपालको एकमात्र शिकार आरक्षका कारण चर्चामा छ । तर,ढोरपाटन क्षेत्रमा नै रहेका र शिकार आरक्षको जत्तिकै महत्व भएका उत्तरगंगा,ढोरबराहा र बाइसधारा लगाएतका धार्मिक र ऐतिहाँसिक सम्पदाको प्रचार प्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका छन् ।
चारैतिर हिमालको सेता चुचुरा । हिमालको तल्लोपट्टि राताराता देखिने अग्ला डाँडा, ती डाँडाहरुको मुनी हरियो जंगल । तल बस्ती अनि बीचमा कलकल बगेको सङ्लो पानीसहितको स्वच्छ उत्तरगंगा नदी,ढोरबाराही र बाइसधारा  ढोरपाटन शिकार आरक्ष भन्दा कम महत्वका सम्पदा होइनन् । तर,शिकार आरक्षको मात्रै एकतर्फि प्रचारप्रसारले यस्ता महत्वपूर्ण सम्पदाहरु ओझेलमा परेका जानकारहरुले बताएका छन् ।

धौलागिरी हिमश्रृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको ढोरपाटन क्षेत्रको बीच भागमा रहेको उत्तरगंगा नदी उत्तरतर्फ बगेको छ । सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी  विश्वव्यापी रुपमा नै अत्यन्तै कम हुने र उत्तरबाहिनी नदीलाई अत्यन्त पवित्र मान्ने गरिएको स्कन्दपुराण,बराहा पुराण लगाएतका विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटर देखि ७ हजार दुई सय ४६ मिटर उचाइमा रहेको ढोरपाटन क्षेत्रको २६ प्रतिशत भूभाग बागलुङ जिल्लामा पर्छ भने ६० प्रतिशत रुकुम र १४ प्रतिशत भूभाग म्याग्दी जिल्लामा पर्दछ ।

 उक्त क्षेत्र म्याग्दी जिल्लाको गुर्जाघाटदेखि रुकुम जिल्लाको निसेलढोरसम्म फैलिएको छ । बीचमा उत्तरगंगा नदी बगेको छ । हिमाली र पहाडी भूभागको संगमस्थल भएको कारण प्राकृत्तिक दृष्टिकोणबाट ढोरपाटन क्षेत्र अत्यन्त मनमोहक रहेको छ । ढोरपाटन शिकार आरक्षको क्षेत्रफल १ हजार ३ सय २५ वर्गकिलोमिटर रहेको छ । ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० मा स्थापना भई २०४४ मा सरकारी मान्यता प्राप्त गरेको हो । यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् ।


नेपालमा ढोरपाटनको उत्तरगंगा र ललितपुरको कर्मनसा नदी मात्र उत्तरवाहिनी नदी भएका बताइएको छ । 

उत्तरतर्फ भई बग्ने उत्तरगंगा नदीको मुहान यहाँस्थित ढोरबराह थान रहेको ढोरपाटन क्षेत्रका जानकारी श्यामबहादुर बिकले जानकारी दिए । ढोरबराह मन्दिरसहित उत्तरगंगा धाम यहाँको अतिप्राचीन तीर्थस्थल भए पनि यसको प्रचारप्रसार हुन नसक्दा सधैं ओझेलमा परेको उनको भनाइरहेको छ ।
उत्तरगंगाको उद्गमस्थल ढोरबराहमा भेडाको बलिसहित पूजाआजा गर्ने चलन रहेको छ । यहाँ गरिएको भाकल कहिल्यै झुठा नहुने जनविश्वासले म्याग्दी,बागलुङ,रुकुम लगाएत नेपालका विभिन्न ठाउँहरुबाट समेत यहाँ पूजाआजाका लागि मानिसहरु आउने गरेका ढोरपाटन नगरपालिका ७ का  रेशबहादुर बूढामगरले जानकारी दिए । भेडाको बलिसहित ढोरबराहको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
ढोरबराहमा पूजा गर्न जाने भक्तजनले रुद्रावती गंगाको उद्गमस्थल रुद्रताल स्नान एवं पूजा गरी ढोरपाटन देउरालीमा पाती चढाएर जाने भएकाले यहाँको पूजा रुद्रतालबाट शुरु हुने गर्दछ । उत्तरगंगा नदीको उद्गमस्थल ढोरबराहको पूजा गरेर मनले चिताएको पुग्ने जनविश्वासका आधारमा विभिन्न भाकलसहित पूजा गर्न जानेको संख्या धेरै रहने गरेको छ ।


त्यसैगरी ढोरपाटन क्षेत्रको धेरै पटक स्थलगत भ्रमण गर्नुभएका बागलुङका पत्रकार डम्बर बूढामगरका अनुसार ढोरबराह मन्दिरमा कुनै पनि समयमा नसुक्ने बाइस धारा छन् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास कायमै छ । 

कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगंगामा बगाउने प्रचलन पनि छ । आवश्यक भौतिक पूर्वाधारका साथै प्रचारप्रसारका अभावमा ढोरबराह र उत्तर गंगाधाम विकासका दृष्टिले अझै पछि परेको पत्रकार बूढामगरले बताए ।

केही समयअघिसम्म अत्यन्त दुर्गम मानिएको ढोरपाटन क्षेत्रमा पछिल्लो समय विकासले गति लिँदै गरेको ढोरपाटन नगरपालिका ९ का वडाअध्यक्ष हरिबहादुर घर्ती मगरले जानकारी दिए । पछिल्लो समयमा ढोरपाटनसम्म जाने बाटो सहज बन्दै गएपछि भक्तजन आउने क्रममा क्रमशः वृद्धि भइरहेको उहाँको भनाइरहेको छ । उत्तरगंगा धामको प्रचारप्रसार नहुँदा आवश्यक पूर्वाधार विकासले गतिलिन नसकेको उनले बताए ।

ढोरपाटन र आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि केही समय पहिलो नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा यस क्षेत्रको अध्ययन भ्रमण गराइएको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिए । ‘सरोकारवाला सबैको प्रयासमा यहाँको प्रचारप्रसारका साथै भौतिक पूर्वाधार विकास गर्नु आवश्यक छ ।’ उनले भने ।


रुकुमको टक र ढोरपाटन हुँदै बुर्तिबाङको सेराबीचको क्षेत्रलाई ‘टकसेरा’ भनिने स्थानीय बताउँछन् । त्यसैगरी ढोरपाटनको दक्षिणपट्टिको डाँडामा रुद्रताल रहेको छ । उक्त तालबाट बगेको पानी गुल्मीको बेलिनमा आएर कालीगण्डकीमा मिसिने भएकाले उक्त ठाउँको नाम रुद्रवेणी भएको इतिहास छ । ढोरपाटनमा रहेको ढोरबाराही मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । उक्त क्षेत्रमा प्रत्यक वर्षको साउन शुक्ल पूर्णिणा (जनैपूर्णिमा) मा विशेष मेला लाग्ने गर्दछ ।
ढोरपाटन शिकार आरक्षको पाटन क्षेत्रमा हरेको उत्तरगंगा नदीको शिरबिन्दुमा उत्तरगंगा धारा रहेका छन् । उक्त ठाउँमा २२ वटा बाह्रैमास पानी आउने धारा छन् । ती २२ धारामा नुहाएर नजिकैको ढोरबाराही मन्दिरमा पूजा गरेमा सबै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । ढोरपाटनमा तिब्बतियन क्याम्पसमेत रहेको छ । उक्त क्याम्पमा १६ घर परिवार तिव्बतियनहरु रहेका वडाअध्यक्ष मगरले बताए।

ढोरपाटन क्षेत्रको जनजीवन अहिले पनि फिरन्ते युगको जस्तै छ। यहाँका मानिसहरू खेती गर्न बेसीमा आउने र बसोबासका लागि लेकमा जाने गर्दछन् । उनीहरूको बासस्थान ६ महिना बेसीमा र ६ महिना लेकमा बस्ने गर्दछन्। ढोरपाटनमा रहेको विमास्थललाई सञ्चालनमा ल्याउन सकेमा यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न अझै सजिलो हुने स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.