|

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही साता यता सङ्क्रमणको दरले जोखिम बढ्दै गएको देखिएको हो।

असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँ तिहारको बेला घरबाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

उनले भने,‘ गाउँघरमा भीडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डाक्टर अवस्थीले जानकारी दिए।

पछिल्लो समय दिनहुँजसो मृत्यु हुने संक्रमितको संख्या पनि बढेको छ। समयमै उपचारका लागि नआउँदा मृत्यु हुने दर बढेको अवस्थीले सुनाए। कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिनासाथ उपचार गर्न उनले आग्रह गरे।

सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख ८४ हजारको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ४७ हजार सात सय ३१ जनामा संक्रमण पुष्टि भइसकेको छ। हाल यस प्रदेशमा एक सय ९८ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ३७ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन्। अन्य सबै होम आइसोलेसनमा छन्। कोरोनाकै कारण यस प्रदेशमा छ सय चार जनाको ज्यान गइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.