प्रधानन्याधीश-बार विवाद

|

काठमाडौं : नेपाल सर्वोच्च बार एसोसिएशनका कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाबारे राजनीतिक दल नबोले राम्रो नहुने चेतावनी दिएका छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि बारको विरोध प्रदर्शनमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल बार एसोसिएशनले जबराको राजीनामा माग गर्दै तेस्रो दिन (मंगलबार) पनि विरोध प्रदर्शन गर्दै आएको छ।

वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरू नबोलेको भन्दै दलहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने माग गरे। उनले बारको निर्णय लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी पनि दिए।

उनले प्रधानन्यायाधीश जबरा न्यायालयमा रहुन्जेल निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय सञ्चालन हुन नसक्ने दाबी गरे। पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्दा यो अवस्था सिर्जना भएको आरोप लगाए।

उनले प्रधानन्यायाधीश जबराले आफ्नो पालामा न्यायाधीशले बिचौलियाको काम गर्ने अवस्था सिर्जना भएको बताए। पूर्व महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशले न्यायालय ठीक किसिमले हाँक्नुभएन। न्यायालयभित्र भ्रष्टाचार र बेथिति बढ्यो। उहाँ टेलिभिजनमा अन्तर्वार्ता दिँदै भ्रष्टाचार भएको छैन भन्नुहुन्छ, हामीले कसरी पत्याउने?’

सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको राजीनामा नै कानुन व्यवसायीको बटमलाइन भएको बताए। उनले न्यायपालिका सुधारका लागि निरन्तर लागि पर्ने बताए।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायमा निष्पक्षता नभएको बताउँदै न्यायालय धरापमा पर्दा समेत राजनीतिक दलहरू मौनता साँधेर बसे दलहरूका लागि पनि राम्रो नहुने बताए। नेताहरूको चाकडी गर्न नसक्ने बताउँदै उनले राजनीतिक दलले आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको दाबी गरे।

प्रधानन्यायाधीश जबराले मन लागेका मुद्दा मन लागेका न्यायाधीशलाई दिएको उनको आरोप छ। दाहालले भने, ‘प्रधानन्यायाधीश र न्यायाधीशका बीचमा पनि संवाद हुन सकेको छैन। राजनीतिक दलका नेताहरूले यो कुरामा मौनता साँधे उनीहरूको पनि कल्याण हुँदैन।’

नेपाल बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्याय अधोगतितिर गएको तर्क गरे। उनले न्याय जनता र सक्षम व्यक्तिको नेतृत्वमा हुनुपर्ने बताए।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराका कारण न्याय अवरुद्ध र विचलनमा रहेको आरोप लगाए। उनले प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गरे।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिन आलटाल गरे रञ्जन कोइरालाका वेला भएको सडक आन्दोलनभन्दा ठूलो आन्दोलन चर्काउने चेतावनी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.