|

काठमाडाैं : तिहारको अन्तिम तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइएको छ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई विभिन्न मनोकामना ब्यक्तगर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका छन्।

कतिले नेपाल पन्चाङ्ग निर्णायक विकास समितिले दिएको विहान ११ बजेर २ मिनेटको उत्तम समयमा टीका लगाए भने कतिले आफ्नो समय अनुकुल विहानदेखि बेलुकीसम्म टीका लगाए।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिए। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर–मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरेका छन्। 

रानीपोखरीमा भीड 

दिदीबहिनी नहुने र दाजुभाइ नहुनेहरूले आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिनमात्र खोल्ने हुँदा आज टीका लगाउने र लगाइदिनेको भीड नै लागेको थियो।

६ वर्षअघिको भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि बन्द थियो। यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन्।

राष्ट्रपति, पूर्व राष्ट्रपति र पूर्व राजाको टीका 

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन , पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाईदिएकी छन्। शितल निवासमा उनले बिहान ११ बजेर २ मिनेटको उत्तम साइत भाइटीका लगाइदिएकी हुन्।

यस्तै लैनचौरस्थित उपराष्ट्रपति निवासमा उपराष्ट्रपति पुनले नजिकका आफन्त बहिनीहरूसँग यसवर्षको भाइटीका ग्रहण गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसपाली भाइटीका ग्रहण गरेनन्। यस्तै पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नी बहिनी पार्वतीको हातबाट भाइटीका लगाए। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्नी बहिनी शोभा शाहीको हातबाट शुभ साइतमै टीका लगाएका छन्। भाइटीकाका दिनलाई नेवार समुदायले भने किजापूजाका रुपमा मनाएका छन्। 

आज सामाजिक संजाल पनि भाइटीकामय भएको छ। आआफ्ना फेसबुक , ट्वीटर तथा इन्स्ट्राग्राममा दिदीबहिनीले दाजुभाइको सहितको तथा दिदीबहिनीले दाजुभाइ सहितको फोटो पोष्ट गरेका छन्। कसैले टीका लगाउँदैगर्दाको त कसैले टीका लगाएर सामूहिक रुपमा बसेको फोटो पोष्ट गरेका छन्।

भाइटीका लगाउन जाने मानिसहरू निस्किएपछि केहीबेर काठमाडौंको यातायात अस्तव्यस्त बनेको थियो। विशेषगरी निजी यातायातको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ।

भाइटीका लगाउनका लागि उपत्यकामा भएका तथा उपत्यका भित्र–बाहिर गर्ने मानिसहरू सडकमा निस्किएसँगै मुख्य नाका, चक्रपथ र प्रमुख चोकहरूमा सवारी चाप अत्यधिक बढेको थियो।

टीका लगाउनुपूर्व मध्यान्ह अगाडी र टीका लगाइसकेपछि अपराह्नतिर उपत्यकामा केहीबेर सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ।  कोटेश्वर, बालकुमारी, बानेश्वर, सातदोबाटो, थापाथली ,चावाहिलसँगै भक्तपुरमा समेत सवारी चाप केही समय ह्वात्तै बढेपछि ट्राफिक व्यवस्थापन अनियन्त्रित भएको थियो।

यसैबीच, आज सार्वजनिक यातायात कम चल्दा टीका लगाउन जाने र टीका लगाएर फर्किने यात्रुलाई मर्का परेको छ। विशेषगरी आफ्ना सवारी साधन नहुने र बालबच्चा सहित हिडेका महिलालाई प्रभाव परेको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरेर सुरु हुने तिहारमा कुकुर पूजा, लक्ष्मी पूजा, गाई , गोरु र गोर्बधन गरिएको छ। भाइटीका गरेसँगै यसपालीको तिहार पनि सकिएको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.