|
मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त मुहानको अवलोकन गर्दै खानेपानीमन्त्री उमाकान्त चौधरी (भादगाउँले टोपी लगाएका)।

काठमाडौं  : खानेपानीमन्त्री उमाकान्त चौधरीले बाढीपछि अवरुद्ध मेलम्ची खानेपानी छिटै सञ्चालनमा आउने दाबी गरेका छन्। 

बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका उनले मेलम्ची खानेपानी छिट्टै सञ्चालनमा ल्याउने आश्वासन दिएका हुन्।

मन्त्री चौधरी सोमबार २ वटा हेलिकप्टर प्रयोग गरि मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न पुगेका थिए।

काठमाडौंबासीले मेलम्चीको पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अस्थायी रुपमा छिट्टै पानी पुनः सुरुङमा हाल्ने काम गरिहाल्छौँ। बाढीपहिरो रोकथामको दीर्घकालीन समाधान विस्तारै खोज्दै जान्छौं।'

गत असार १ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको अम्बाथान मुहान पुर्नुको साथै ड्याम भत्काएको थियो। 

मुहानको संरचना पूरै पुरिएकाले खोलेर हेरेपछि मात्र क्षतिको विवरण तयार पार्न सकिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वाशुदेव पौडेलले बताए। अहिले नै क्षतिबारे केही भन्न नसकिने उनको भनाइ छ।

यस्तै, हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हाल खानेपानीको मुहान भएको ठाउँमा पहिरोको उच्च जोखिम भएकाले मुहान माथि सार्न आयोजनालाई सुझाव दिए।

खानेपानी काठमाडौं पठाउन आफूले  विगतमा पनि सहयोग गरेको र सकेको सहयोग सधैं गर्ने प्रतिबद्धतासमेत उनले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.