|

विराटनगर : तीन दिनदेखि हराएर बेपत्ता बनेका एक किशोरको शव फेला परेको छ।

मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैँचा टोलका १४ वर्षीय निश्चल राय तीन दिनदेखि हराएका थिए। उनको शव आज (बुधबार) बिहान घरदेखि पूर्वपट्टिको सिंघिया खोलामा मृत अवस्थामा फेला परेको हो।

नेकपा माओवादी केन्द्रका नेता उपेन्द्र रायको छोरा निश्चल कार्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए। तीन दिनदेखि हराएको निश्चल शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोला छेउमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

किशोरको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  शव फेला परेपश्चात् घटनाको अनुसन्धान सुरु भएको डिएसपी श्रेष्ठले बताए। उनले भने, ‘तीन दिनदेखि हराएको बालकको शव मृत अवस्थामा फेला परेको छ, घटनाको विषयमा अनुसन्धान भइरहेको छ।’

घटना रहस्यमय रहेको भन्दै मृतकको परिवारले  घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही गरिनुपर्ने माग राखेका छन्। ‘छोराको मृत्यु शंकास्पद रहेको छ,’ मतृकका बावु उपेन्द्रले भने, ‘प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्नलाई कारबाही गरिनुपर्दछ।’

 छोरा हराएको लिखित उजुरी दिएर प्रहरीलाई जानकारी गराउँदासमेत  प्रहरीले खोजतलासमा बेवास्ता गरेका कारण यस्तो घटना भएको मृतकका परिवारको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.