|
तिब्बतमा सांग्पो, भारतमा ब्रह्मपुत्र र बंगलादेशमा पद्माका नामले चिनिने नदी ब्रह्मपुत्र। तस्वीर सौजन्य : इनसाइक्लोपेडिया ब्रिटानिका

नयाँ दिल्ली : चीनको तिब्बतदेखि भारत हुँदै बंगलादेश पुगेर महासागरमा मिसिने ब्रह्मपुत्र नदी भारतीय सभ्यता र संस्कृतिको जननी मानिए पनि यसको बृहत् खोज र अनुसन्धान हुन नसकेकोमा भारतीय संस्कृतिका जानकारले चिन्ता व्यक्त गरेका छन्।

हिमालयबाट भारतीय भूमि हुँदै बग्ने नदीहरूमा सिन्धु, सरस्वती, गंगा र ब्रह्मपुत्र मुख्य मानिन्छन्। तीमध्ये ब्रह्मपुत्र पूर्वोत्तर भारत र बंगालको प्रमुख नदी हो।

तिब्बतदेखि बंगलादेशसम्म फैलिएको ब्रह्मपुत्र नदीको क्षेत्र व्यापक रहेको भारतीय संस्कृतिका जानकार तथा भारतीय लेखक अनिरुद्र जोशी ‘शतायु’ले बताए।

लेखक शतायुका अनुसार  ब्रह्मपुत्र केवल नदी मात्र नभएर भारतीय संस्कृति र सभ्यताको मिलन विन्दु हो।

यो नदी तटमा कैयौं सभ्यता र संस्कृति उदय भए तापनि व्यापक खोज र अनुसन्धान हुन नसक्दा ती सभ्यता  र संस्कृति ओझेलमा परेका छन्।

‘आर्य–अनार्य, मंगोल–तिब्बती, बर्मी–द्रविड़, मुगल–आहोम आदि संस्कृतिको उदय भएको हो। जसरी ब्रह्मपुत्रमा अनेक नदी समाहित भएर अघि बढेका छन् त्यसैगरी यहाँ अनेक संस्कृति मिलेर एक भिन्नैखाले आर्य संस्कृति गठन भएको हो। ब्रह्मपुत्र नदी क्षेत्रको वृहत्तर आधारलाई शोध र अनुसन्धान गर्न आवश्यक छ, यो नदी प्राचीन भारतको इतिहाससँग जोडिएको नदी हो,’ उनले भने।

तिब्बतस्थित पवित्र मानसरोवर तलाउबाट निस्केको सांग्पो नदी पश्चिमी कैलाश पर्वतबाट बग्दै तल झरेपछि ब्रह्मपुत्रको नामले चिनिने भारतीय संस्कृतिका अनुसन्धाता शतायुले बताए।

तिब्बतको मानसरोवरमा मुहान रहेको यो नदीले तिब्बतदेखि बंगलादेश (समुद्र) सम्म २ हजार ९ सय ६ किलोमिटर यात्रा पार गर्छ।

सांग्पो, ब्रह्मपुत्र, पद्मा र समुद्रसम्म पुग्दा मेघना नामले चिनिने यो नदी  भारतको मात्रै नभएर एशियाको नै सबैभन्दा लामो नदी भएको भारतीय संस्कृतिका जानकार जीवन शर्मा आचार्यले बताए।

उनका अनुसार तिब्बतमा यो नदीको लम्बाइ १ हजार ६ सय २५ किलोमिटर, भारतमा ९ सय १८ र बंगलादेशमा ३ सय १८ किलोमिटर छ।

तिब्बतको मानसरोवरदेखि भारतको अरुणाचल प्रदेश, नागालैंड, मेघालय, भूटान, पश्चिम बंगाल र सिक्किमका पहाडी क्षेत्रबाट निस्केका अनेक नदी ब्रह्मपुत्रमा समाहित हुँदै बगंलादेशमा पुगेर महासागरमा मिसिन्छन्।

नदी तटमा अनेक जनजाति र आदिवासीको बसोबास छ। ती सबैको आ-आफ्नो कहानी र संस्कृति रहेको आचार्यले बताए।

हरेक क्षेत्रमा यो नदीको स्वभाव र आचरणमा पनि भिन्नता पाइने शतायुले बताए।

डिब्रूगढ़मा यो नदीको फैलावट विशाल हुँदै बगेको छ भने गुवाहाटीमा दुवै तर्फको पहाडको बीच भागबाट बग्दा आफ्नो आकार सानो बनाएको छ।

नीलाचल पर्वतमा कामाख्या मन्दिरको चरणस्पर्श गर्दै अघि बढेको नदीले त्यहाँबाट विराट रूप धारण गरेको र आसामका अधिकांश ठूला शहर यही नदीको किनारमा विकसित भएका छन्।

डिब्रूगढ़, जोरहाट, तेजपुर, गुवाहाटी, धुबड़ी र ग्वालपाड़ा यही नदीको किनारमा रहेका शहर हुन्।

शतायुका अनुसार यो नदी क्षेत्रमा सयौं गुफा, घना जंगल र कैयौं प्राचीन सभ्यताका अवशेष अहिले पनि पाइन्छन्।

प्राचीन मानव पनि यही नदीको आसपासमा भएको प्रमाणहरू भेटिएका भारतीय संस्कृतिका अध्येता जीवन आचार्यले बताए।

उनले भने, ‘ब्रह्मपुत्रको सांस्कृतिक र धार्मिक इतिहासको खोज र अनुसन्धान गर्न  आवश्यक छ। यो  नदी पनि सिन्धु सभ्यताका नदीभन्दा कम महत्वको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.