|

काठमाडौं : भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन्। करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन्।

धानमा दाना नलागेपछि चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका छन्। भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा किसानले यस्तो गुनासो गरेका छन्।

चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए। सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन्।

भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए। तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरू छन्।

भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार÷पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको छ।

स्थानीय जातको बीउ लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षित हुँदा उत्पादनमा समेत समस्या आउने देखिएको छ। किसानलाई हाइब्रिड बीउतर्फ आकर्षित गर्नुभन्दा स्थानीय बीउको संरक्षण गरी उत्पादन बढाउँनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको छ।

कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउको प्रयोग नगरी स्थानीय बीउको संरक्षण गर्नुपर्ने नेपाल कृषक समूह महासंघका अध्यक्ष टेकबहादुर लाखाले बताए।

भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना नलागेको किसान कुलबहादुर न्ह्ेमाफुकीले जानकारी दिए।

त्यो बेला १४ हजारभन्दा बढी किसानको खेत बाँझै भएको थियो। स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए।

उनका अनुसार  खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ। चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीको विषयमा नरपालिकाले पनि अध्ययन गरी रहेको उनले जानकारी दिए।

नगरभित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले आपतकालिन कोशबाट केही राहत उपलब्ध गराउनेसमेत मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.