|

बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।

बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।

‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्म कुनै सहमति भएको मेरो जानकारीमा छैन’‚ उनले भने, ‘तर केन्द्रमा भोलिको दिनमा यो विषयमा सहमति भए त्यो निर्णय मान्न हामी तयार छौँ।’

यसअघि गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले प्रदेश १ सरकारको नेतृत्व आधाआधा हुनुपर्ने माग राख्दै आएको थियो।

मुख्यमन्त्री राईले एक साताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताए। उनले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने गरी गृहकार्य भइरहेको पनि जानकारी दिए।

‘अबको हप्ता दिनभित्र मन्त्रिपरिषद्‌ले पूर्णता पाउनेछ। त्यसैले मन्त्रालय फुटाउने तयारी छ’, उनले भने, ‘यसबारे आवश्यक गृहकार्य सुरु हुनेछ।’

प्रदेश १ मा अहिले सातवटा मन्त्रालय छन्। यसलाई फोडेर ११ वटा बनाउने गठबन्धनको नयाँ सरकारको तयारी रहेको जनाइएको छ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार, कृषि तथा सहकारी र वन तथा पर्यटन मन्त्रालय फोड्ने तयारी छ। कात्तिक १६ गते मुख्यमन्त्ती नियुक्त राईले सोही दिन सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.