|

अनिसा श्रेष्ठलाई आफू कहिलेदेखि नाच्न थालेँ भन्ने ठ्याक्कै थाहा छैन तर ६ वर्षकी हुँदा घर नजिकैको बज्र कला कुञ्जले आयोजना गरेको कार्यक्रममा नाचेको भने अलिअलि सम्झन्छिन्। यतिवेला टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको सांस्कृतिक नाटक 'पचली भैरव'मा अनिसा केन्द्रीय पात्र रुक्मणीको भूमिकामा देखिएकी छन्। 

लामो समयदेखि विभिन्न स्टेज कार्यक्रम तथा गीतहरूमा नृत्य गरेकी, स्कुलमा बच्चालाई नृत्य पढाउँदै आएकी अनिसाले अहिले पिके क्याम्पसमा नृत्यमै स्नातक गर्दै छिन्। उनका लागि नाटक नौलो विधा हो तर नाटकमा निर्देशकले देखाउन खोजेको र कथाले मागेको रुक्मणीलाई जीवन्त देखाउन उनले सक्दो प्रयास गरेकी छन्। 

नाच्ने विद्यार्थी
अनिसालाई नाच्न त खुब मन पर्थ्याे तर धेरै मानिसको माझमा नाच्न अलिअलि लाज अलिअलि डर पनि लाग्थ्यो। तीन क्लासमा हुँदा उनी पढ्ने विद्यालयमा एउटा सांस्कृतिक कार्यक्रम हुँदै थियो जसमा नाच्ने बाल कलाकारको खोजी भइरहेको थियो। 

डर र लाजभन्दा अलिकति बढी हिम्मत जुटाएर उत्साह थपेर उक्त कार्यक्रममा आफू पनि नाच्ने निधो गरिन्। उनले निधो गरे पनि कलाकार छान्ने समूह अर्को थियो। त्यहाँबाट पास भएपछि उनले तीन क्लास पढ्दासम्मको जिन्दगीको सबैभन्दा ठूलो कार्यक्रममा भाग लिइन्। 

'त्यो गीत पश्चिम कोही पूर्व घर थियो। म नेवारी ड्रेस लगाएर नाचेकी थिएँ।' त्यो दिन सम्झँदै उनी भन्छिन्, 'त्यसपछि त मलाई सबैले डान्सर नै भनेर चिन्न थाले। स्कुलका हरेक कार्यक्रममा नाच्न थालेँ।' 

उनी पढाइमा त्यस्तो राम्रो थिइनन् तर नृत्य उनको नसानसामा थियो। उनी भन्छिन्, 'त्यसपछि शिक्षकहरूले पनि यसले राम्रो नाच्छे है। यसलाई नचाउनुपर्छ भन्नुहुन्थ्यो।' 

उनले स्कुल पढ्दासम्म नृत्यसम्बन्धी कुनै कक्षा लिइनन् तर पढाइसँगै यसलाई पनि निरन्तरता भने दिइन्। 

एसएलसीपछि साधना कला केन्द्रमा नृत्य कक्षा लिन पुगेकी उनलाई विस्तारै नृत्यसम्बन्धी थप नयाँ कुरा थाहा हुँदै गयो। आफूले कति जानेकी छु कति सिक्न बाँकी छ भन्ने कुराको ज्ञान भयो। 

ठूलो स्टेज
जब नृत्यसम्बन्धी कक्षा लिन थालिन् उनले धेरै मान्छेहरू चिन्दै पनि गइन्। यसै क्षेत्रमा काम गरिरहेकाहरूले उनलाई मन पनि पराए। त्यसपछि उनलाई एउटा अवार्ड कार्यक्रममा कोरस डान्सरको रूपमा काम गर्ने अवसर आयो। 

साना खालका कार्यक्रममा बच्चा वेलादेखि नै नाच्दै आएकी अनिसाले त्यस्ता कार्यक्रममा भने भाग लिएकी थिइनन्। 

'साम्राज्ञी, करिश्मा, रेजिना उप्रेती, आकाश श्रेष्ठ जस्ता कलाकारसँग हामी नाच्ने भन्ने थाहा पाएपछि त म छक्क परेँ। त्यसअघि मैले नजिकबाट कुनै कलाकारलाई देखेकी पनि थिइनँ'‚ उनी सम्झन्छिन्, 'त्यो अवार्ड कार्यक्रमबाट धेरै साथी भए। धेरै वरिष्ठ दाइदिदी भेटेँ। त्यसपछि त कामको कमी नै भएन।' 

त्यसपछि दुई वर्ष लगातार कोरस डान्सर भएर काम गरेकी उनले अरू थुप्रै कलाकारसँग काम गरिन् जसलाई उनी टेलिभिजन या फिल्म हलको पर्दामा मात्र देख्ने गर्थिन्। धेरै कलाकारसँग दोहोरो चिनजान पनि भयो। बिस्तारै सेलिब्रेटी देख्दा ओहो हुन छोड्यो। 

मैले गरेको काम मन पराउनेहरू थिए। साथै मेरो कामलाई लिएर अनेकथरी कुरा गर्ने आफन्त पनि थिए तर ममीबुवाले त्यस्ता कुरा सुन्नु हुन्नथ्यो। मेरो कामलाई लिएर मभन्दा बढी खुशी बुवाममी हुनुहुन्छ। मेरो ऊर्जा पनि उहाँहरूको खुशी नै हो। 

नाटकको यात्रा
'पचली भैरव'मा रुक्मणी बन्नुभन्दा अघि उनले बज्र कला कुञ्जकै नाटक 'कुमारी'मा केन्द्रीय भूमिका निर्वाह गरेकी थिइन्। शरीरको भाषामा बोल्दै आएकी उनलाई लामा लामा संवाद त्यो पनि संवाद सुहाउँदो भाव भंगिमाका साथ बोल्नु गाह्रो कुरा थियाे। 

'थिएटरको अनुभव पनि त्यही नाटकमा पहिलो पटक पाएँ। चुनौती थियाे तर राम्रो भयो। गरेँ।' कुमारीमा भन्दा बढी चुनौती 'पचली भैरव'मा भएको पनि उनी बताउँछिन्, 'यो खालको यथार्थमा आधारित नाटक गरेकी थिइनँ। म रुक्मणी हुँ भनेर आफूलाई बुझाउनै गाह्रो भइरहेको थियाे। फेरि एउटी रुक्मणी मात्र भएर पनि भएन। युवती, गर्भवती, एउटी आमा गरेर विभिन्न अवस्थाकी रुक्मणी बन्नुपर्ने थियाे। अनि मैले अभिनयको कुनै कक्षा पनि लिएकी थिइनँ। टिम राम्रो भएर अलि सजिलो भयो।'

उनको प्रयास रुक्मणी पात्रलाई न्याय गरूँ भन्ने थियाे। उनले रिहर्शल बाहेकको समयमा पनि रुक्मणीलाई नै दिमागमा खेलाउँथिन्। हिँड्दा रुक्मणीको चाल कस्तो थियाे होला भनेर सोच्थिन्, बोल्दा रुक्मणी कसरी बोल्थिन् होला, स्वभाव कस्तो थियाे होला भनेर सोच्थिन्। त्यसैअनुसार आफूलाई ढाल्ने कोसिस गर्थिन्। 

पहिलो शो
'हामी पछि जोडिएको भए पनि नाटकको तयारी दुई वर्ष अघिदेखि नै चलिरहेको थियाे। नाटकसँग चन्द्रमान सरको सपना जोडिएको थियाे।' पहिलो शो सम्झँदै उनी भन्छिन्, 'शोको दिन बिहानदेखि नै डर लागिरहेको थियाे। डर पनि होइन‚ त्यस्तै त्यस्तै। त्यो दिन त मैले खाना पनि खाइनँ।' 

'शो सुरु भयो। सकियो। ताली बज्यो। अडियन्स हाउसफुल थिए। मेरी ममी पनि हुनुहुन्यो। रुँदै हुनुहुँदो रहेछ। धेरैका आँखा रसाएका थिए। खुशी लाग्यो। मैले रुक्मणीलाई अन्याय गरेकी रहेनछु भनेर ढुक्क पनि भएँ। धेरै जनाले यस्तो यस्तो पुगेको छैन भन्नुभयो। त्यसमा पनि काम गरेँ। सकेसम्म राम्रो गर्ने प्रयास गर्दै छु।'

सपनाका कुरा
'पहिलेदेखि नै डान्सर बन्छु भन्ने थियो तर डान्सरभित्र पनि धेरै ठाउँ हुँदा रहेछन् जान मिल्ने। त्यो थाहा थिएन।' बदलिँदै गएको सपनाको आकारका बारेमा उनी भन्छिन्, 'एसएलसी पछि थाहा पाएँ कोरस डान्सर भन्ने अनि त्यहीँबाट कोरियो ग्राफर भन्ने पनि हुँदो रहेछ भन्ने थाहा भयो। कोरियो ग्राफर बन्ने हो कि स्टेज पफर्मर बन्ने हो कि आफ्नै इन्स्टिच्यूट खोल्ने हो कि डान्स टिचर बन्ने हो कि धेरै ठाउँ रहेछ।'

आफूलाई खोतल्दै जाँदा मन धेरैतिर अल्झिँदै गएको उनको अनुभव छ। 'मलाई मोडलिङ गर्न मन छ, एक्टिङ गर्न पनि मन पर्छ। मेरा अगाडि जे जे अवसर आयो त्यो सबै गर्दै गएँ।' उनी भन्छिन्, 'कोरस आयो कोरस गरेँ, स्कुल आयो स्कुलमा डान्स सिकाउन थालेँ धेरैवटा स्टेज पफर्मेन्स गरेँ। थिएटरमा आएँ। यहाँ पनि एकदमै राम्रो लागिरहेको छ।'

'अहिले ल्याटिन साल्सा बचता सिकिरहेकी छु‚ जुन मेरा लागि एकदमै नयाँ हो। उता डान्समै स्नातक पनि गर्दै छु। अहिलेसम्म भविष्यमा यही मात्र गर्छु भनेर निश्चित भने भइसकेको छैन। विस्तारै थाहा होला तर जे गरे पनि भविष्यमा डान्स र थिएटरतिरै हुन्छु होला। नाचिराखेको, एक्टिङ गरिराखेको।' 

उनी लगनमा विश्वास त गर्छिन् तर घरी घरी सोचेजस्तो नहुने हो कि। गर्दागर्दै पनि सोचेको ठाउँसम्म नपुगिने हो कि भनेर उनी झस्किन्छिन्। 'बुझ्दै जाँदा यो फिल्डमा आफ्नो मान्छे हुनुपर्दो रहेछ या त पैसा हुनुपर्दो रहेछ भन्ने थाहा भयो। जुन यो फिल्डका लागि चाहिने जति दुवै कुरा मसँग छैन। त्यही भएर अलिकति पछि परियो कि जस्तो लाग्छ तर गरेपछि नहुने कुरा त के होला र? भन्ने पनि लाग्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.