|

विराटनगर : विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरले हड्तालको चेतावनी दिएका छन्।

आइसिपीले  श्रमिक तथा मजदुरलाई श्रम ऐनअनुसार सेवासुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ देखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो।

संघका एकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरको जायज माग पूरा नगरे मंसिर १२ देखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए।

उनले संघकै अगुवाइमा ०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरू अनुसारका मागहरू राखिएको भएपनि सम्बोधन नभएको बताए।

समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदार तथा कर्मचारीलाई नियमित गर्नुपर्ने, प्रत्येक कामदार तथा कर्मचारीलाई ७ लाख बराबरको बीमा गर्नुपर्ने माग राखे।

युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीमा खटिने मजदुरलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्न माग गरे।

उनले श्रम स्वीकृति नलिई आइसिपीमा विदेशी कामदारलाई काममा लगाइएको दाबीसमेत गरे। उनले भने, ‘आइसिपीमा काम गर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने गरेको छ, श्रमिकले श्रम ऐनअनुसार सेवा र सुविधाको ताकेता गर्दा पछिल्लो समय ट्रान्स नेपाल आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजिरहेको छ।’

आइसिपीमा नेपाल र भारतका गरी करिब ३ सय श्रमिक कार्यरत छन्।

श्रमिकको मागबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा कसैले ध्यान नदिएकाले हड्तालमा जानुपर्ने बाध्यता सिर्जना भएको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.