|

पर्वत : नेपाली कांग्रेस पर्वतको सभापति पदका लागि तीनजना बीच प्रतिस्पर्धा हुने भएको छ।

मङ्गलबार भइरहेको निर्वाचनमा सभापतिका लागि महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मिलन सुवेदीको उम्मेदवारी दर्ता भएको छ।

सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयनको प्रयास भए पनि सभापति सहितका सबै पदमा धेरै आकाङ्क्षी रहेका कारण निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने बाध्यता भएको हो।

निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको नामावली अनुसार उपसभापतिमा डा. चूडामणि शर्मा, शिवप्रसाद सुवेदी, कमलराज पौडेल र गोविन्दप्रसाद पाध्याको उम्मेदवारी परेको छ।

सचिवमा ओमप्रसाद शर्मा घायल, मोहन आचार्य, कमलबहादुर अधिकारी, अशोक उचै ठकुरी, पानबहादुर मल्ल सन्तोष, गुप्तनिधि शर्माको उम्मेदवारी दर्ता भएको छ।

यस्तै सहसचिवमा परशुराम पुरी, अच्युत तिवारी, पङ्कजकुमार क्षेत्री सुवेदी, तिलकप्रसाद भुसाल उम्मेदवार रहेका छन्।

एकजना महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति केही सदस्य भने निर्विरोध भएका छन्। मुस्लिम तथा अल्पसङ्ख्यकबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सनम बेगम विजयी भएकी छिन्।

पैयुँ गाउँपालिकाबाट गुप्तप्रताप सेन र तुलसीदेवी तिवारी, विहादी गाउँपालिकाबाट लक्ष्मी आचार्य र टीकाराम भुसाल, महाशिला गाउँपालिकाबाट कला भट्टराई, मोदी गाउँपालिकाबाट भुलबहादुर पौडेल र लक्ष्मी मेधासी, जलजलाबाट लक्ष्मीकुमारी हमाल, खस/आर्यतर्फ महिला सदस्यमा लक्ष्मीकुमारी खत्री क्षेत्री र कमला शर्मा विजयी भएका छन्।

कुश्मा र फलेवास नगरपालिकाबाट निर्वाचित हुने जिल्ला सदस्यमा भने धेरै जनाको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ। जिल्ला सदस्यतर्फ कुश्मा नगरपालिकाका नौजना, फलेवास नगरपालिकाका सातजनाका बीचमा प्रतिस्पर्धा हुने भएको छ।

आदिवासी जनजातितर्फ दुईजनाको उम्मेदवारी रहेको छ। दलित महिला तथा पुरुष गरेर दुईजना, अपाङ्गता भएका तथा अल्पसङ्ख्यकतर्फ दुईजना र प्रदेश प्रतिनिधि अपाङ्गता भएकातर्फ दुईजना उम्मेदवार रहेका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ २१ जना / प्रत्यक्ष महिलातर्फ सातजनाको उम्मेदवारी परेको छ। महाधिवेशन खस/आर्यतर्फ १३ जना, आदिवासी जनजातितर्फ चारजना, दलित तर्फ चार र अपाङ्गता भएकातर्फ दुईजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

मतदान मङ्गलवार बिहान ११ बजेदेखि साँझ सात बजेसम्म हुने नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसको पार्टी कार्यालयमा निर्वाचन हुने छ भने मतदान सकिएलगत्तै मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.